कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान जारी छ । हालसम्म १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्र हत्यामा १६ जनाविरुद्ध किटानी जाहेरी छ । टीकापुरमा भाइटीकाको भोलिपल्ट छुरा प्रहार गरि भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नविन भने अहिले फरार छन् ।
नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीमा उनीविरुद्ध लुटपाट, आतंक र ज्यान मार्ने उद्योगमा पुराना उजुरी छन् । प्रहरीका अनुसार उनी प्रहरीको खोजीमै रहेका व्यक्ति हुन् ।
एक अधिकारीका अनुसार नवीनले ढुङ्गा गिट्टीका ठेकेदारलाई धम्क्याएर पैसा लिने गरेको, कवाडी संकलन गर्नेह्रुबाट असुली गर्ने गरेको, काठ व्यापारीबाट पनि पैसा लिने गरेको देखिएको छ । यसबाहेक उनले चिसापानी क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकमाथि समेत बेलाबेला हातपात गर्ने गरेको पाइएको छ ।
२८ वर्षका नवीन पछिल्लो ४ वर्षदेखि टीकापुर, लम्की बेस बनाएर गुण्डागर्दी र अपराधका घटनामा संलग्न रहदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी गुण्डा समूहका नाइके नै भएको त्यहाँका प्रहरी अधिकारी बताउँछन् । उनको गिरोहमा २० देखि २५ जनासम्म रहेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार नवीनकै नामबाट ‘नब्बु सरकार’ नामको गुण्डा समूह बनाइएको थियो ।
ती प्रहरी अधिकारीले भने,“नब्बु सरकार भन्ने गिरोह रहेछ । जसका नाइके नवीन रहेको पाइयो । नवीनको समूहका सबैले आफुले सामाजिक सञ्जालमा लेख्ने पोष्टहरुमा समेत ‘नब्बु सरकार’ ह्यासट्याग राख्ने गरेका थिए । अहिले भने सबैले आइडी डिएक्टिभ गरेका छन् ।” उनीहरु योजनावद्ध रुपमै गुण्डागर्दीमा लागेको पाइएको छ । उनीहरुको गिरोहले काठमाडौंमासमेत गुण्डागर्दीको योजना बनाएको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ । केही समयअघि नवीनले भुपेन्द्रलाई फुलबारीको एक रिसोर्टमा बोलाएर आफूहरुको समूहमा आउन आग्रह गरेका थिए ।
भुपेन्द्रले आफू अमेरिका जान लागेको भन्दै नवीनको प्रस्ताव अस्वीकार गरेको पाइएको छ । नवीनले भुपेन्द्रलाई आफ्नो समूहबारे भनेको र सोही सूचना चुहिन सक्ने डरले हत्या गर्न योजना बनाएको हुन सक्ने प्रहरी अनुमान छ । हालसम्म पक्राउ पर्नेहरु सबैजसो नवीनकै समुहका हुन् । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सक्रिय छ ।
काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि काठमाडौं फर्किने योजनामा भुपेन्द्र साथी कपिल श्रेष्ठलाई भेट्न जाने बेला उनको हत्या भएको थियो ।