बडुवाल हत्या प्रकरण किनारा नलाग्दै कैलालीको लम्की पुनः तनावग्रस्त, महिलाको शव उठाइयो, राजमार्ग खुल्यो
2021/11/25, 6:38
 
aa

महिना दिन नपुग्दै कैलालीको लम्की पुनः तनावग्रस्त बनेको छ । भूपेन्द्र बडुवाल हत्या प्रकरण किनारा नलाग्दै बिहीवार ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएपछि लम्की पुनः तनावग्रस्त बनेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टका अनुसार ट्रकको ठक्करबाट टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएपछि   आक्रोशित भीडले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

लम्कीचुहा नगरपालिका–१ का बडुवालको गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटलनजिकै हत्या भएको थियो । प्रहरीले हालसम्म हत्याको चुरो पत्ता लगाउन सकेको छैन । घटनाले पनि लम्की क्षेत्र २ दिनसम्म तनावग्रस्त बनेको थियो ।

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइयो, राजमार्ग खुल्यो

कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ। बिहीबार दिउँसो १२ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो। 

उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आक्रोशित भिडले उक्त ठक्कर दिने ट्रकमा आगजनी समेत  गरेका थिए। आन्दोलित स्थानीयले लम्की बजार पनि बन्द गराएका थिए। 

तर साँझ भने घटनास्थलमै रहेको मृतकको शव उठाउन दिइएको छ। उनको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। शव उठाइएपछि ५ घण्टादेखि अवरुद्ध राजमार्ग पनि खुलेको ट्राफिक कार्यालयले बताएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।