कालापानी, लिपुलेक र लिम्पियाधुरामा हुन सकेन जनगणना, टोली हेलिकोप्टर मार्फत फिर्ता
2021/11/25, 6:44
 
dd

१२ औँ संस्करणको राष्ट्रिय जनगणना सङ्लन गर्ने कार्य सकिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भने जनगणना हुन सकेन । कात्तिक २५ गतेदेखि जनगणना गर्ने कार्य गरिएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सफलता पूर्व जनगणना कार्य सम्पन्न भएको बताए । “छिटपुटबाहेक हामीले लक्ष्य राखेअनुसार नै जनगणना सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ,” उनले भने ।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म पनि केही घरमा कोही पनि नभएकाले केही घरपरिवार जनगणनामा छुटेको उनले बताए । आज रातिसम्म त्यस्ता छुटेको घरमा पनि तथ्याङ्क संकलन गरिने उनले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जान नदिएपछि सो क्षेत्रमा भने जनगणना हुन नसकेको उनले बताए । “भू–भाग हाम्रो हुँदा हुँदै पनि भारतले प्रवेश नै गर्न दिएन । जसका कारण सो क्षेत्रमा जनगणना गर्न सकिएन,” उनले भने ।

भारतको बाटो हुँदै सहज रुपमा जान सकिने टिङ्कर र छाङ्रू गाउँमा पनि भारतले जान नदिएको उनले बताए । तर, अप्ठ्यारो बाँटो भएपनि ती गाउँमा गएर गणकले जनगणना गरेको उनले बताए । उनकाअनुसार ती गाउँ कालापानी, लिपुलेक नजिकै छन् ।

पहिलो चरणमा गरिएकको सङ्कलित सूचीकरण अनुसार नै जनगणना भएको उनले बताए । जनगणनाका लागि विभागले ७७ जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ । राष्ट्रिय जनगणनाका लागि देशभर ४० हजार गणक परिचालन गरिएको थियो भने आठ हजार ५०० सुपरीवेक्षक सहभागी थिए । विभागले शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणना कार्यबारे विस्तृत जानकारी दिने जनाएको छ । 

जनगणना गर्न छाङरू र तिंकर गएको टोली हेलिकोप्टरमार्फत फिर्ता

दार्चुलाको ब्यास गाउँपालिका १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई जनगणना कार्य सम्पन्न भएपछि बिहीबार हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ।भारतले बाटो प्रयोगको अनुमती नदिएको र ब्यासबाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुँदा हेलिकोप्टरमार्फत खलंगा ल्याइएको हो ।

जोखिमपूर्ण बाटो मा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकाले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले बताए । जिल्लाभरीको जनगणनाकार्य लगभग सकिएको उनले बताए । गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए।