नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलाको जिल्ला कार्यसमितिको निर्वाचनको मतगणनास्थलमा झडप भएको छ । सातौं जिल्ला अधिवेशनको नेतृत्वका दुई सभापतिका प्रत्यासीका समूहबीच झडप भएको हो ।
सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिंह धामी पक्षका बीच झडप भएको हो । धामी पक्षका एक नेताका अनुसार बोहराको समूहले धामी पक्षधरहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो ।
झडपमा धामी पक्षका केही कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँदलगायत रहेका छन् । उनीहरु शैल्यशिखर नगरपालिकाका हुन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ जना नेताहरू चुनावी प्रतिस्पर्धामा छन ।
दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । कूल १ हजार ४२ मतदाता रहेकोमा ९ सय ५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९ सय ५६ जनाले मतदान गरेका थिए ।
अहिले निर्वाचन मण्डलले मतगणना भने जारी राखेको छ ।