बैतडीमा डुङ्गा चालकले मनोमानी शुल्क लिँदा स्थानीयलाई समस्या
2021/11/27, 9:30
 
dd

बैतडीमा डुङ्गा चालकले मनोमानी शुल्क लिँदा स्थानीयहरूलाई समस्या भएको छ । शिवनाथ गाउँपालिका १ बछेलाका हरिसिंह साउँद केही दिन पहिला औषधि उपचारका लागि भारत पुगेका थिए । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा उनी डुङ्गा मार्फत महाकाली नदी तरेर भारत पुगेका हुन ।

तर उनले एक पटक भारतीय क्षेत्रमा जाँदा डुङ्गा चालकलाई चार सय भारतीय रुपैंया शुल्क तिरको बताएका छन् । फेरी फर्किँदा यसैगरी चार सय भारु तिरेर नेपाल भित्रिएका हुन । तल्लोसोराडका शिवनाथ र पञ्चेश्वरका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् ।

तर पछिल्लो समयमा डुङ्गा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन् । डुङ्गा चालकले आफूखुसी एक पटक तारेको ६ सय रुपैयाँ लिने गरेको शिवनाथ गाउँपालिका १ बण्डका माधवसिंह साउँदले बताए ।  बैतडीको तल्लोसोराडका आधा दर्जन बढी घाटमा डुङ्गा मार्फत आवतजावत गर्ने गरिएको छ । प्रशासन र स्थानीय सरकारले डुङ्गा चलाउन रोक लगाएको भने पनि चालकहरुले मनोमानी डुङ्गा सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायहरुको ध्यान नजाँदा स्थानीयहरु दैनिक रुपमा ठगिँदै आएका छन् । 

महाकालीमा डुङ्गा चलाउन रोक लगाउनुभन्दा पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीहरुको माग छ । महाकाली नदी तर्न अन्य विकल्प नभएकाले घाटहरुलाई व्यवस्थित बनाएर सञ्चालन गर्नुपर्ने स्थानीय बलदेवसिंह चाडले बताए । डुङ्गा चालकहरुले भने बढी शुल्क नलिएको दाबी गरेका छन् ।