भोकमरी हुने अवस्था आएपछि हुम्ला जिल्लाका लागि धनगढीबाट स्थलमार्ग भएर खाद्यान्न ढुवानी गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी मोहनपुरस्थित गोदामबाट शुक्रबार हुम्लाका लागि ९० क्वीन्टल चामल पठाइएको छ ।
कम्पनीका क्षेत्रीय प्रमुख एन्जिला बस्नेतले हुम्ला सदरमुकाम सिमकोटका लागि ट्रकबाट ९० क्वीन्टल चामल पठाइएको जानकारी दिइन् । हुम्लामा चामल ढुवानीको ठेक्का पाएको गणेश ढुवानी सेवाले शुक्रबार बिहान चामल लगेको हो ।
उक्त ढुवानी सेवाले आइतबार पनि चामल लैजाने जानकारी गराएको बस्नेतले बताइन् । ‘ढुवानीको ठेक्का पाएका व्यवसायीले थप चामल यही आइतबार उठाउने भनेको छ ।’ बस्नेतले भनिन्, ‘हुम्लाका लागि निर्धारण गरिएको कोटाको चामल हामीसँग मौजदात छ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीबाट ढुवानी हुने गरी यस वर्ष सिमिकोट र हुम्लाकै श्रीनगर डिपोका लागि सात/सात सय क्वीन्टल चालको कोटा निर्धारण गरिएको छ ।उक्त चामल ढुवानी हुन सकेको छैन ।
मोहनपुर गोदाममा १६ हजार क्वीन्टल चामल मौजदात रहेकाले केन्द्रले अनुमति दिए हुम्लामा आवश्यकताअनुसार चामल पठाउन सकिने क्षेत्रीय कार्यालयले जनाएको छ । खाद्यान्न अभावले भोकमरी हुने अवस्था आएपछि हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रका स्थानीय खाद्यान्नको माग गर्दै काठमाडौँ पुगेका छन् ।
खाद्यको धनगढी डिपोमा भने खाद्यान्न मौजदात छ । खाद्यको धनगढी डिपोबाट सुदूरपश्चिमका पहाडी जिल्लाका साथै स्थल मार्गबाट हुम्ला, मुगु र सुर्खेतमा पनि चामल ढुवानी हुने गरेको छ ।