कञ्चनपुरको बेलौरीमा मोटरसाइकल चोरी गर्ने योजना बनाउने मुख्य योजनाकार पक्राउ परेका छन्। गत कात्तिक ७ गते उनको योजनामा बेलौरी बजार पानी ट्यांकी नजिक रहेको डिडी अटोमोबाइल्स शोरूमबाट ३ वटा मोटरसाइकल चोरी भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
सोही चोरी पछि फरार रहेका शैल भन्ने शौरभबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई लालझाडी चान्देवस्थित एक घरबाट आइतबार बिहान ४ बजे पक्राउ गरिएको हो। चोरीएका ३ वटा पल्सर मोटरसाइकल प्रहरीले बरामद गरी चोरीमा सलंग्न बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारस बिष्ट र किरण नाथलाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरिसकेको छ।
आइतबार पक्राउ परेका सिंहसहित नरी बिष्ट भन्ने नरेन्द्र जोशी, सतिस बोहरा र भुवन ऐर गरी ४ जना प्रहरीको फरार सूचीमा रहेका थिए। सिंह पकाउ परिसकेपछि अब बाँकी ३ फरारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
सो समूहले जिल्लामा विभिन्न अपराधिक घटना निम्ताउने गरेको उनले बताए। उक्त समूहविरुद्ध जिप्रका कञ्चनपुरमा २२ पुस २०७४ मा ज्यान मार्ने उद्योग दर्ता भएको छ। यस्तै इलाका प्रहरी कार्यालय झलारीमा चोरीका ३ मुद्दा, इलाका प्रहरी कार्यालय बेलौरीमा चोरीका २ मुद्दा र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागुऔषध मुद्दा दर्ता छ।