मल अभावले चिन्तामा किसान
2020/05/11, 7:13
 
mal

प्रत्येक वर्ष रसायनिक मलको अभाव हुन थालेपछि कैलालीका किसान चिन्तित भएका छन । अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारतबाट मल ल्याउन नसकिने भन्दै किसानहरु चिन्तित भएका हुन ।

यता कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले भने रसायनिक मलको मौज्दात रहेको दावी गरेको छ । लकडाउन भएका कारण प्रत्येक दिन निश्चित सहकारीलाई मात्र मल वितरण हुँदै आएको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिँह रावलले जानकारी दिए । उनका अनुसार यूरिया एक हजार सात सय ५२ मेट्रिक टन, डिएपी पाँच सय ३७ मेट्रिक टन र पोटास एक सय ९२ मेट्रिक टन अहिले मौज्दात रहेको छ । जिल्लाका लागि रसायनिक मल प्रयाप्त नभएपनि अभाव भने नहुने उनले बताए ।
अहिलेसम्म झण्डै साढे सात हजार मेट्रिक टन यूरिया वितरण गरिएको छ । त्यस्तै नौ सय टन डिएपी वितरण गरिएको छ ।

अझै सात सय टन डिएपी माग गरिएको रावलले बताए । ‘प्रदेशका लागि आवश्यक मल अहिले छ, केही मगाएका छौ बोगटीले भने । कैलालीमा एक सय ३० सहकारी मार्फत कृषि सामग्री कम्पनी लिमिटेडले रसायनिक मल बिक्री वितरण गर्दै आएको छ । सुदूरपश्चिममा एक लाख २० हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले भने, ‘एक लाख २० हजार हेक्टरका लागि ३० देखि ३५ हजार मेट्रिक टन प्रदेशमा आवश्यक हो । तर १५ देखि २० हजार मेट्रिक टन रसायनिक मल मात्र प्रदेशमा आयात हुँदै आएको छ । यो प्रयाप्त हैन् । प्रदेशमा अभाव भने हुन्छ ।’ 

वर्षे खेतीको समय सुरु भएकाले किसान मलको जोहो गर्न थालेका छन्। तर प्रदेश सरकारले भने मल खरिदका लागि अहिलेसम्म कुनै प्रक्रिया थालेको छैन ।