डडेल्धुराका पाँच स्थानीय तहमा ‘मतदाता नामावली संकलन’ गरिँदै
2021/11/28, 10:11
 
ss

डडेल्धुराका पाँच स्थानीय तहमा फोटोसहितको ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुने भएको छ। निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने भएको हो।

जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने भएको हो। निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जनाएको छ। 

पहिलो चरणमा जिल्लाका आलिताल, भागेश्वर र नवदुर्गा गाउँपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।  दोस्रो चरणमा अजयमेरु र गन्यापधुरा गाउँपालिकामा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म मतदाता नामावली संकलन गरिने उनले बताए। उनका अनुसार मतदाता नामावली संकलन पालिका मुकाममा हुनेछ। 

अमरगढी र परशुराम नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालनमा रहेको छ।  मतदाता नामावली दर्ता र संकलनलाई नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र योग्य मतदाताहरू मतदाता नामावलीमा नछुुटून् भन्ने यो कार्यक्रमको लक्ष्य रहेको अवस्थीले बताए। 

यस्तै बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका व्यक्तिको समेत मंसिर १७ गतेदेखि मतदाता नामावलीको विवरण संकलन जिल्ला निर्वाचन कार्यालय डडेल्धुराबाट गरिने अवस्थीले जानकारी दिए।  मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रमाणपत्र, बेजिल्लावासी भए बसाइसराइको प्रमाणपत्र र बिहे गरी आएको भए विवाहदर्ताको प्रमाणपत्र आवश्यक पर्नेछ। आवश्यकताअनुसार शैक्षिक प्रमाणपत्र, लालपुर्जा वा सवारीचालक अनुमतिपत्रका आधारमा पनि दर्ता गरिनेछ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मतदाता नामावली दर्तालाई स्थानीयस्तरमा प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरेका छन्। उनले छुट भएका व्यक्तिलाई नामदर्ता गराउन राजनीतिकर्मी, सञ्चारकर्मी, सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताए।  डडेल्धुरामा प्रतिनिधिसभातर्क १ र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन्। जिल्लामा २०७८ असारसम्मको मतदाता संख्या ८८ हजार ४५ छ। जसमा महिला ४४ हजार १४ जना र ४४ हजार ३१ जना पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ।