अछाम बस दुर्घटनाः मृतकका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा
2021/12/02, 4:51
 
aa

 मंगलबार अछाममा भएको बस दुर्घटनामा ज्यान गुमाएका आफन्तले उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलनको घोषणा गरेका छन्। मंगलबार सुन्दर सुदूरपश्चिम यातायात प्रालिको ना६ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो। 

मृतकका आफन्तले चालकको लापरबाहीका कारण उक्त दुर्घटना निम्तिएको र हालसम्म पीडितलाई न्याय हुने गरी क्षर्तिपूर्ति नपाइएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्। उनीहरुले बुधवार (हिजो)देखि आन्दोलन गर्दै आइरहेका छन्। बुधवार जिल्ला सदरमुकाम मंगलसैनमा चक्काजाम गर्दै उनीहरूले सवारी साधन सञ्चालनमा रोक लगाएका थिए।

त्यति गर्दापनि पीडितको पक्षमा छलफल नभएको भन्दै उनीहरुले आन्दोलनलाई थप कडाइका साथ लैजाने भएका छन्। बिहीबार विज्ञप्ति नै जारी गदै उनीहरुले सुदूरपश्चिम बस व्यवसायी समितिका बस सञ्चालन गर्न नदिने बताएका छन्। यदि २५ गतेसम्म पनि जिल्ला प्रशासन र बस व्यवसायी समितिले कुनै निकास ननिकाले आन्दोलनलाई थप सशक्त गर्ने मृतकका आफन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

मंगलवार दुर्घटनामा परी मंगलसैन नगरपालिका वडा नम्बर १ कुन्तीबण्डालीका २१ वर्षीय एकेन्द्र थापा र सोही नगरपालिका वडा नम्बर १४ कालागाउँका ५७ वर्षीय टंक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो। भने, बसमा सवार ३६ जना घाइते भएका थिए।