सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
गत वर्ष कोरोनाले नराम्ररी प्रभावित पारेको भन्दै यस वर्ष भने सरकारले विगतका जस्तो समस्या हुन नदिनको लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए ।
विगत वर्षहरूमा कोरोनाका कारण कयौँले अकालमै ज्यान गुमाउनुपरेको स्मरण गर्दै प्रदेशमा रहेको जिल्ला अस्पताल र प्रादेशिक अस्पताहरुको स्तरोन्नति गरिन लागेको सो अन्तरक्रिया कार्यक्रममा जानकारी गराएका हुन् ।
उनका अनुसार प्रदेशका सबै जिल्ला अस्पतालमा ५० बेड, टीकापुर र महाकाली दुई सय बेड र सेती प्रादेशिक अस्पताललाई तीन सय बेड स्तरोन्नति र दरबन्दी पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । यस्तै सेती अस्पतालको अत्याधुनिक भवन निर्माण गर्न डीपीआर तयारी प्रक्रिया र टेलिमेडिसिन सेवा सुरु गर्ने तयारीमा रहेको मन्त्री खड्काले बताए ।
सिमानाकाको हेल्थ डेस्कमा डेडीकेटेट एम्बुलेन्सको समेत व्यवस्था गरिएको बताउँदै मन्त्री खड्काले तोकिएको उमेर समूहका सबै लाई कोभिड खोप दिने समेत बताए । प्रदेशमा कोभिड १९ को प्रभाव कायमै रहेका वेला नेपालमा फेरि अर्को नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ ।
यसरी छिमेकी देश भारतमा पनि तीव्र रूपमा यो नयाँ भेरियन्ट फैलिरहेका बेला प्रदेशका सबै नाकाहरूमा उच्च सतर्कता अपनाइएको समेत मन्त्री खड्काले जानकारी दिए । यस्तै सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९को कार्तिक मसान्त सम्मको वित्तीय प्रगतिमा प्रदेश सरकार अन्तरगतको चालु र पुँजीगत तर्फ तथा प्रदेश र सङ्घीय तर्फको गरी जम्मा ५९ लाख ८० हजार ४ सय ६ कुल विनियोजन रकम मध्ये ५ लाख ७७ हजार २ सय रुपैंया अर्थात् ९.६५ प्रतिशत खर्च गरिएको छ । भने ५४ लाख ३ हजार २ सय ६ रुपैयाँ बाँकी रहेको छ ।
सो रकममा प्रदेश सरकारले ४५ लाख ११ हजार ५ सय ४ रकम विनियोजन गरेकोमा ४ लाख ९४ हजार २ सय ७० अर्थात् १०।९६ प्रतिशत रकम खर्च गरेको जनाएको छ । भने सङ्घीय सशर्त अन्तरगत चालु र पुजिगत गरी जम्मा १४ लाख ६८ हजार ९ सय २ रहेकोमा ८२ हजार ९ सय ३० अर्थात् ५.६५ प्रतिशत रकम बजेट खर्च गरेको मन्त्री खड्काले जानकारी दिए ।
यस्तै, मन्त्रालयले प्रथम चौमासिक सम्ममा चालु र पुँजीगत तर्फ गरी १८ लाख ७० हजार ५ सय ७८ रुपैयाँ विनियोजन गरेकोमा ५ लाख ७७ हजार १ सय ८५ रुपैयाँ अर्थात् ३०.८६ प्रतिशत रकम खर्च खरेको मन्त्री खड्काले बताए । जसमा चालु तर्फ प्रथम चौमासिकका लागी विनियोजित बजेट १४ लाख ४३ हजार ३ सय २७ रुपैयाँ रहेको मा ५ लाख १ हजार ४ सय ८ अर्थात् ३४.७४ प्रतिशत रकम खर्च गरिएको छ । यस्तै पुँजीगत तर्फ ४ लाख २७ हजार २ सय ५१ रुपैंया विनियोजन गरिएकोमा ७५ हजार ७ सय ७७ रुपैयाँ अर्थात् १७.७४ प्रतिशत रकम खर्च गरिएको जनाइको छ ।