आफूहरूको हक अधिकार सुनिश्चित गर्न आरक्ष पीडितको माग
2021/12/07, 11:21
 
ss

कञ्चनपुरका आरक्ष पीडितहरूले आफूहरूको हक अधिकार सुनिश्चित गर्न माग गरेका छन् । आरक्ष पीडित जिल्ला सङ्घर्ष समिति कञ्चनपुरको टोलीले मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै आफूहरूका हक अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

सरकारले आरक्ष पीडित परिवारलाई १० कट्ठा जग्गा दिनुपर्ने, आरक्ष पीडितको अधिकार निश्चित गर्नुपर्ने, २०५८ सालमा सरकारले खोसेको सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका मागहरू राखेका हुन् । आरक्ष पीडितको व्यवस्थापन अझै पनि हुन नसकोले हालसम्मको क्षतिपूर्ति सहितको व्यवस्था गर्न माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

No description available.

मंसिर ११ गते देखि सडक आन्दोलन देखि विभिन्न सङ्घर्ष गर्दै आइरहेको र सोही अनुसार आफूहरू मुख्यमन्त्री कार्यालय पुगेको आरक्ष पीडित जिल्ला सङ्घर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्दले बताए । कञ्चनपुरमा अहिले २ हजार ४ सय ७३ आरक्ष  पीडित   परिवार रहेको उनले जानकारी दिए।

सरकारले आरक्ष पीडितहरूको घर परिवारको व्यवस्थापन गर्ने भन्ने आश्वासन दिएको बर्षौ बितेपनि अहिलेसम्म आफूहरू ठगिँदै आएको उनीहरूले बताएका छन् । आफूहरूका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरूले चेतावनी समेत दिएका छन् ।