स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्न कैलाली प्रशासनको आग्रह 
2021/12/09, 2:33
 
ss

जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरेको छ । मंसिर २१ गते बसेको जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसिएमसी)को बैठकले कोभिड-१९ को तेस्रो लहर ओमिक्रोनको संक्रमण रोकथामका लागि सबैले सर्तक रहन आग्रह गरेको छ ।

प्रशासनले कुनै पनि मठ मन्दिर, गुम्वा, चर्च, मस्जिद, गुरुद्वारा लगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थानहरूमा हुने नित्य पूजा र पाठ, आराधना बाहेकका मानिस भेलाजम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन, कीर्तन, विवाह, व्रतवन्ध लगायतका कुनै पनि कार्य गर्दा सर्वसाधारणले स्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालन गर्न आग्रह गरेको हो ।  यस्तै प्रशासनले  कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई जनस्वास्थ्य कार्यालय कैलालीसँग समन्वय गरी खोप लगाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरूको आगमनलाई व्यवस्थित गर्ने, नाकाहरूमा सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालय कैलालीबाट स्थापना गरिएको हेल्थडेक्सलाई थप व्यवस्थित बनाई नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको चेकजाँच गरी अभिलेख राख्ने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।