विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विना इजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ । बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।
खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ । ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उनीहरू गाडीसहित भन्सार कार्यालयसमेत पार गरेका हुन् । तर, ती चेकपोष्टले पोशाकसहित भारतीय प्रहरी प्रवेश गरेको चालै पाएन वा नजरअन्दाज गर्यो ।
कुनै पनि भारतीय नागरिक गाडीसहित नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा इन्ट्री गरेर तोकिएको दस्तुर बुझाएपछि मात्र नेपाल प्रवेश गर्ने प्रावधान छ । तर, उनीहरू भने विना भन्सार र विना इन्ट्री नेपाल प्रवेश गरेका हुन् । यो घटना भने भारतीय प्रहरी चढेको गाडीले एक नेपालीलाई ठक्कर दिएपछि मात्रै बाहिरिएको हो । एचआर ३१पी ८७७९ नम्बरको टोयोटा गाडीले ठक्कर दिँदा एक नेपाली घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार भारतीय प्रहरीहरू एक जना भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार रहेका छन् । उनीहरू सवार गाडीले टीकापुर नगरपालिका–९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडियालाई टीकापुर–९, झुँगाको पीपल बोटनजिकै ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार से २ प ७२११ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार गोडियालाई सो गाडीले ठक्कर दिँदा उनको निधार, चिउँडो र हातमा चोट लागेको छ ।
घाइते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ । तर, नेपाल प्रहरीले उनीहरूको नेपाल प्रवेश र दुर्घटनालाई सामान्य रुपमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटना सामान्य रहेको र उनीहरू अनुसन्धानको क्रममा रहेकै बेला झुक्किएर नेपाल प्रवेश गरेको बताए । त्यस्तै इप्रका टीकापुरका प्रहरी नायव उपरीक्षक सापकोटाले विना इजाजत प्रवेश गरेको गाडीलाई फर्काउने क्रममा नेपालीलाई ठक्कर दिएको बताए ।
ठक्कर दिएपछि चालक आफैं रहेका भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही तथा उनीहरू सवार गाडीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा राखेको छ । प्रवेश गर्ने बेलामा उनीहरू पोशाक सहित भए पनि पछि टीकापुर अस्पतालमा मापसे जाँच गर्न लगिँदा अर्कै पोशाकमा लगिएको खबर लोकान्तरले लेखेको छ ।