केन्द्रीय सदस्यका उम्मेदवार गोबिन्द बोहोरा र भक्तबहादुर बलायरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बोहोरा र बलायरले डा.रणबहादुर रावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिएका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डाक्टर रावलले आफुलाई समर्थन गरेकोमा बलायर र बोहरालाई धन्यवाद दिए । केन्द्रिय सदस्य (प्रदेश) सुदूरपश्चिम पदमा उम्मेदवारी दर्ता गराएका बोहराले आज उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
उनले भने –‘मैले उम्मेदवारी फिर्ता लिनुपर्ने भयो । त्यसैले फिर्ता लिएको हुँ ।’ उनले उम्मेदवारी फिर्ता लिएसंगै रणबहादुर रावललाई सहज भएको छ । यस्तै, डोटीबाट सो पदमा उम्मेदवारी दर्ता गराएका बलायरले पनि उम्मेदवारी फिर्ता लिएको बताए । शनिबार सो पदमा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।