मृतक भूपेन्द्रकी आमाले भनिन्–‘न्यायको आश छैन, बद्ला लिन्छौं ’
2021/12/14, 12:26
 
dd

 कैलालीका भूपेन्द्र बडवालकी आमा दुर्गाले छोराको न्याय पाउने आश नरहेको बताएका छिन् । छोरा भूपेन्द्रको न्याय माग्दै सोमवार धनगढी पुगेकी दुर्गाले यस्तो बताएकी हुन्। न्यायाधिश बिकेको आरोप लगाउँदै उनले भनिन्–‘बरु, बाँकी नौ जनालाई पनि छोडि दिए हुन्छ ।’ हर्क रावलले आफ्नो छोरालाई तालिम दिएर मान्छे मार्न लगाएको आरोप लगाउँदै उनले हर्क र दल रावलसंग बद्ला लिने बताइन् ।

‘तालिम दिएर उनीहरु पनि मान्छे मार्न लगाउँछन् भने हामी पनि तालिम दिएर उनीहरुको सन्तति मार्न लगाउन सक्छौं’, दुर्गाले भनिन्–‘आज म रोएर बसेको छु । उनीहरु हाँस्दैछन् । जसरी भए पनि बद्ला लिन्छौं । उनीहरु रोएको दिन म हाँस्नेछु ।’  यस्तै मृतकका ठूल बुबा भगत बडुवालले भूपेन्द्र हत्या घटना सरकारी मुद्दा भइसकेकाले सरकारी वकिल पीडित परिवारसंग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए । उनले तीन जनालाई धरौटीमा छोड्नु कमजोरी भएको जस्तो वकिलहरुलाई पनि लागेको उल्लेख गरे ।

भूपेन्द्र बडुवाल हत्याकाण्डका तीन जना अभियुक्त धरौटी राखेर तारेमा रिहा भएपछि मृतकका आफन्तले सोमवार धनगढीमा प्रदर्शन समेत गरेका हुन् । हत्यामा संलग्न सबै जनालाई कारबाहीको माग गर्दैै उनीहरुले धनगढी बजार क्षेत्र र कैलाली जिल्ला अदालत मूल गेटमा प्रदर्शन गरेका हुन । उनीहरुले हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका हुन् ।

मृतकका आफन्तले मृतकको अस्तु र हत्याका प्रतिवादीहरुको तस्बिर लिएर प्रदर्शन गरेका हुन । उनीहरुले हत्यारा लेखिएका तस्बिर हात–हातमा बोकेका थिए । गएको कार्तिक २३ गते राति ९ बजेतिर टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्रको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको थियो ।

संगठित अपराधमा क्रियाशील आपराधिक समूहले उनको हत्या गरेको हो । हत्याको आरोपमा २१ जनाविरुद्ध उजुरी परेको थियो । जसमध्ये १२ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामाध्ये कैलाली जिल्ला अदालतमा थुनछेक बहसपछि नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भने, तीन जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । 

अदालतको आदेश अनुसार लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, दीपेन्द्र शाही, १९ वर्षीय मदन शाहीलाई कारागार चलान गरिएको छ । यसैगरी, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २१ वर्षीय रोहित आले, २३ वर्षीय प्रविण रिमाल र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई पुर्पक्षका लागि जेल पठाइएको छ ।

घटनाका मतियार भनिएका बर्दगोरिया गाउँपालिका–२ का लोकुन्द्र कुँवर, सोही नगरपालिकाको वडा नम्बर ५ का २८ वर्षीय विकास खड्का र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ सविनजङ्ग शाही भने धरौटी बुझाएर तारेखमा छुटेका छन् ।  

तर, मृतकका आफन्तले अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै हत्या घटनामा संलग्न कसैलाई पनि छोड्न नहुने जिकिर गरेका छन् । उनीहरुले हत्यारा सबैलाई कारबाही र फरार रहेकाहरुलाई ‘इन्काउन्टर’ गर्न माग गरेका छन् । हत्याका मुख्य अभियुक्त भनिएका नवीन रावल, जयन्द्र शाह लगायत नौ जना भारततिर फरार रहेका छन् ।