जङ्गली हात्तीको त्रास: जीउधनको सुरक्षाका लागि भौतारिँदै शिविरका बासिन्दा
2021/12/14, 12:33
 
ss

हात्तीको डरले साँझ नपर्दै शिविरका बासिन्दा बस्दै आएको ठाउँ छाडेर सुरक्षित ठाउँमा सुत्नका लागि जाने गर्न थालेका छन् । “निकुञ्ज क्षेत्रबाट दाउरासमेत सुरक्षार्थ तैनाथ नेपाली सेनाले ल्याउन दिँदैन”, स्थानीयवासी भगिरथ भट्टले भने, “आगो बालेको देखेर हात्ती आउँदैनथ्यो, दाउरा नहुँदा त्यो समेत गर्न पाएका छैनौँ ।

सुरक्षाका लागि नजिकको चानदेउमा बालबालिका बोकेर खुला आकाशमुनि सुत्नका लागि जानुपरेको छ ।” आरक्ष विस्तारका क्रममा विसं २०५८ मा विस्थापनमा परेका परिवार ढक्का शिविरमा बस्दै आएका छन् । जङ्गली हात्तीको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ४५ वर्षीय राधादेवी बोगटीसमेत आइतबार राति घाइते भएकी छन् ।

जङ्गली हात्तीको बथानले घर भत्काउने क्रममा बोगटी घाइते भएकी हुन् । “सुतेको बेला हात्तीले घर भत्काउन थाल्यो”, घाइते राधाका श्रीमान् रामबहादुर बोगटीले भने, “भाग्ने क्रममा उनी घाइते भएकी हुन् ।” हात्तीले बोगटीको घरभित्र भण्डारण गरेर राखेको १० क्विन्टल बढी धानसमेत खाएर नोक्सान गरेको छ । घर पुरै भत्काएर क्षतिग्रस्त बनाएको छ ।

यसैबिच सोमबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयलगायतको टोलीले हात्तीले मानवीय क्षति पुर्याएको ढक्का शिविर र बेलडाँडी क्षेत्रको अनुगमन गरेको छ । हात्ती प्रभावित क्षेत्रको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले हात्ती नियन्त्रणका लागि प्रभावकारी रूपमा कार्य अगाडि बढाइने बताए।  उनले प्रहरी मार्फत हात्ती भगाउन सुरक्षाकर्मी परिचालनसँगै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सामग्री उपलब्ध गराउने आश्वासनसमेत दिए । मानवीय क्षति व्यहोरेका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि पहल गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।