सुदूरपश्चिमका ४२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयो
2021/12/15, 3:26
 
ss

सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुुपरभाइजर निरीक्षक जयन्द्र बोगटीले हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको जानकारी दिए ।  बोगटीका अनुसार १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् ।

प्रदेशमा खोप अभियानअन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको छ । कञ्चनपुर सहितका ६ पहाडी जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ११ हजार डोज मोडना खोप धनगढी पठाएको छ । कञ्चनपुरका लागि ६३ हजार ३४६ डोज, अछामका लागि ३४ हजार ३२८ डोज, बैतडीका लागि ३१ हजार ६३९ डोज खोप आएको फार्मेसी सुुपरभाइजर निरीक्षक बोगटीले बताए ।

डोटीका लागि २५ हजार २७५ डोज, बझाङका लागि २४ हजार २० डोज, बाजुराका लागि १६ हजार ८४३ डोज र दार्चुलाका लागि १५ हजार ५७९ डोज खोप पठाइएको उनले बताए । संघीय सरकारले पठाएको खोप बुुधबार धनगढी आइपुग्ने र बुुधबारदेखि नै जिल्लालाई वितरण गरिने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।  कैलाली र डडेल्धुराका लागि भने संघीय सरकारले नै फाइजर खोप पठाउनेछ । दुवै जिल्लामा अगामी पुस दोस्रो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ ।