बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने
2021/12/18, 1:21
 
news

बैतडीमा पौष ६ गतेदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पौष ६ गतेदेखि कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको हो। 

जिल्लाका ३२७ विद्यालयहरुमध्ये २७९ ओटा विद्यालयमा खोपकेन्द्र तोकिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले बताए। जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरु ३८ हजार ८१२ रहेका र खोप ३१ हजार ६४० डोज मात्रै प्राप्त भएको उनले बताए। अपुग खोप व्यवस्थापन का विषयमा आइतबार खोप समन्वय समितिको बैठक बसेर छलफल गरिने बताइएको छ।  

जिल्लाको पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा पौष ६ गतेदेखि ८ गते सम्म, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पौष ७ देखि ९ गते सम्म, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा पौष ९ र १० गते र सुर्नया गाउँपालिकामा पौष १० र ११ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।