भिजेको भन्दै कम्पनीले धान खरिद गरेन
सरकारले नकिनेपछि अब कसले किन्ने ?
2021/12/18, 7:56
 
ss

पानी र बाढीबाट जसोतसो जोगाएको धान बिक्रीका लागि प्रतिक्षारत कैलालीका किसानले अनन्तः सरकारबाट पनि धोका पाएका छन् ।ढिलो गरी यहाँ धान खरिद कार्य सुरु गरेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भिजेको भन्दै धान खरिद नगरी फिर्ता पठाएपछि किसानलाई ‘हर्ष न विस्मात’ भएको हो ।

बाढीका कारण धानबालीमा ठूलो नोक्सान व्यहोरेका उनीहरु बँचेको आफ्नो उत्पादन बिक्री नभएपछि समस्यामा परेका छन् । किसानले बिक्री गर्न ल्याएको धान मापदण्डभित्र नपरेकाले खरिद गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन् ।

‘किसानले धेरै ल्याए तर, सबै भिजेको धान रहेछ’, उनले भनिन् । ‘भिजेको धान खरिद नगर्नु भनेर हामीलाई स्पष्ट निर्देशन भएकाले खरिद गर्न सकेनौं ।’ सरकार मातहत रहेको कम्पनीले मङ्सिर २२ देखि धान खरिदको कार्य सुरु गरेको हो । धनगढी उपमहानगरपालिकाको मोहनपुर र टीकापुर नगरपालिकाको सत्तीमा खरिद केन्द्र स्थापना गरिएको छ ।

दुवै ठाउँमा भिजेको धानमात्रै बिक्री गर्नका लागि ल्याइएको जनाइएको छ । किसानले ल्याएको धान कम्पनीको मापदण्डभित्र नपरेकाले खरिद नगरी फिर्ता पठाइएको बस्नेतले जानकारी दिइन्। 

‘किसानसंग प्रशस्तै धान छ । सत्तीमामात्रै करिब दुई सय ट्रलीसम्म धान बिक्री गर्नका लागि ल्याइएको थियो’, उनले भनिन् । ‘तर, सबै भिजेका कारणले खरिद गर्न नसकी फिर्ता पठाएका छौं ।’ 

कम्पनीलाई यसवर्ष ३५ हजार क्वीन्टल धान खरिदका लागि कोटा आएको थियो । तर, राम्रो धान नपाएपछि डेढ हप्तासम्म काँटा लगाएर अहिलेसम्म १३ क्वीन्टल धानमात्रै खरिद गरिएको छ । केही किसानले बाढी अगावै भित्र्याएको धान बिक्रीका लागि ल्याएपछि त्यो खरिद गरेको प्रमुख बस्नेतले बताइन् । 

चाहे अनुसार किसानबाट धान नआएपछि कम्पनीले जिल्लाको अरु ठाउँमा खरिद केन्द्र पनि विस्तार गरेको छैन । गतवर्ष आठ ठाउँमा केन्द्र स्थापना गरेर धान खरिद गरिएको थियो । यो वर्ष पाइलेटिङको रुपमा दुई ठाउँबाटमात्रै धान खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेपछि किसान भने समस्यामा परेका छन् । दुःखकष्ट गरेर उत्पादन गरेको कृषि उपज सरकारले नकिनेपछि अब कसले किन्ने भन्ने यक्ष प्रश्न उनीहरुको सामू खडा भएको छ ।

यहाँका कतिपय किसानले यसअघि नै व्यापारीलाई प्रतिक्वीन्टल हजारदेखि एक हजार दुई सय रुपैयाँमा धान बिक्री गरिसकेका छन् । कम्पनीले खरिद नगरेपछि फेरि पनि व्यापारीलाई नै सस्तोमा धान बिक्री गर्नु पर्ने बाध्यता उनीहरुलाई आइ परेको छ । कम्पनीले धान खरिद नगरेपछि कृषक गंगाराम चौधरी आक्रोसित भएका छन् । उनले सरकारले किसानका मिहिनेत र कृषि उपजको अवमूल्यन गरेको आरोप लगाए ।

‘पानीले भिजाएको धान सरकारले नै खरिद गरोस भन्ने हामी किसानको चाहना थियो । किनभने सरकार नै हाम्रो अभिभावक हो’, उनले भने । ‘तर, अहिले आएर भिजेको भन्दै फिर्ता गरियो ।’ 
नेपाल सरकारले यस वर्ष मोटा धानको प्रतिक्वीन्टल दुई हजार ७५२ र मध्यम किसिमको धानको दुई हजार ९०३ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

यसैबीच, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो ।

कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७५२, मध्यम धानको रु दुई हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ । सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न थालेको हो ।

कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रबार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । ‘धान खरिदका लागि गत शुक्रबारदेखि टोकन वितरणको कार्य गरेका हौँ’, निमित्त शाखा प्रमुख उपाध्यायले भने, ‘४८ वटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल को हाराहारीमा फ्रेस ९गुणस्तरयुक्त० धान खरिद गरिएको छ ।’ 

केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए । ‘एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौँ’, उनले भने, ‘तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौँ ।’ व्यापारीले चलखेल गर्नसक्ने भएकाले सहजरुपमा किसानको धान खरिद गर्न कोटो निर्धारण गरिएको उनको भनाइ छ ।

बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान बिक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्नका लागि पुग्ने गरेका छन् । कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई छ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । धान धेरै आए निर्धारण गरिएको कोटा बढ्नसक्ने निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

कम्पनीको शाखा कार्यालयले एक दिनमा टोकनका आधारमा ६० क्विन्टलदेखि ८० क्विन्टल धान मात्रै तौल गर्दै आएको छ ।

गत वर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि नौ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो । गत वर्ष कम्पनीले मोटो धान रु दुई हजार ७३५ का दरले खरिद गरिएको थियो । खरिद गरिएको धान टेण्डरमार्फत कुटानी गरी चामल आपूर्ति गर्नका लागि तोकिएका क्षेत्रमा टेण्डर प्रक्रियाबाट ढुवानी गरी आपूर्ति हुँदै आएको छ ।

कम्पनीले ढिलो गरी धान खरिद गर्दा जिल्लाका ८५ प्रतिशत किसानले गल्ला व्यापारीलाई सस्तो दर रेटमै धान बिक्री गरिसकेका छन् ।किसानले गल्ला व्यापारीलाई रु एक हजारदेखि रु एक हजार ७०० प्रतिक्विन्टलका दरले धान बिक्री गरेका छन् ।

भिजेको धान भन्दै व्यापारीले सस्तोमै धान खरिद गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका थोरै किसानले मात्रै कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्न थालेका छन् । कम्पनीका निमित्त शाखा प्रमुख उपाध्यायका अनुसार विगतका वर्ष जस्तो धान बिक्रीका लागि पुग्ने किसानको घुइँचो यस वर्ष लागेको छैन ।

बेमौसमी वर्षाका कारण किसानले काटेको धान पूरै वर्वाद हुँदा धान बिक्री गर्ने किसान घटेका हुन् । कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ ।