कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या अपडेटः कुकुरसहित पुगेको प्रहरीले भेट्टायो ‘अडियो रेकर्ड’
2021/12/19, 11:01
 
ss

कैलाली जिल्लामा भूपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै अर्को क्रुर हत्या प्रकरण बाहिरिएको छ ।  जिल्लाको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्या गरिएको घटना बाहिर आएको हो ।

प्रहरीका अनुसार उनको हत्या अति नै क्रुर र विभत्स ढंगले गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ ।

उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’  सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ ।  त्यस्तै, प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड समेत फेला पारेको छ । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

‘हामी अनुसन्धानमै छौ । डग स्निफिङ गरायौँ । अडियो रेकर्डसहित केही क्लु फेला परेको छ । हामी शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाएका छौँ । हिजो राति भइसकेकोले आज मृतकको शव उठाउने काम होला ।’  स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।

स्थानीयका अनुसार सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै आएको छ । त्यसमध्ये दास पनि लागुऔषध प्रयोगकर्ता हुन सक्ने आशंका गरिएको छ । तर यसबारे प्रहरीले पुष्टि गरेको छैन ।