सुदूरपश्चिममा दश जनामा कोरोना सङ्क्रमण
2021/12/20, 8:38
 
ss

सुदूरपश्चिम प्रदेशमा थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६२९ जनाको नमुना परीक्षण गरिएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणका क्रममा पाँच तथा एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण देखिएको हो।

पीसीआर विधिमार्फत कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन, कैलाली र डडेल्धुराका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जना कोरोनाबाट मुक्त भएका छन्। उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन। यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ।