बैतडीमा आजदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ।
सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।
१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई लक्षित गर्दै सुरु भएको अभियान पुस ११ गते सम्पन्न हुनेछ।
आजदेखि जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिइन थालिएको हो। यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म अभियान सञ्चालन हुनेछ।
दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८ सय १२ किशोरकिशोरी रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो।
जिल्लाभरि २सय ५९ खोपकेन्द्र स्थापना गरी अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। बैतडीमा हालसम्म ७५ हजारभन्दा बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन्।
यस्तै खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन्।
सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ।