सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज बसेको मन्त्रीपरिषदको बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८र७९–२०८२र८३ को संक्षिप्त अवधारणापत्रलाई स्वीकृत दिएको हो ।
प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् । यस्तै मन्त्रीपरिषदको बैठकले सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिएको बताइन् । ‘
गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइनेछ भने नौवटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरि ११ बनाइनेछ ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रुपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ । प्रदेश सरकारले केही महिनाअघि सञ्चालनमा ल्याएको प्रदेश राजपत्र छापाखानामा अस्थायी रुपमा कर्मचारी दरबन्दीका लागि निर्णय गरेको मन्त्री जोशीले बताइन ।
‘छापाखानामा एक कार्यालय सहयोगी, प्राविधिकसहित तीन जना कर्मचारी अस्थायी रुपमा भर्ना गरिने छ’ उनले भनिन् । यस्तै, प्रदेशमा रहेका फर्महरु नविकरण नभएकाले उनीहरुको म्याद थप गरी पाँच प्रतिशत जरिवाना राखिएको उनले बताइन् ।