बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन
2021/12/24, 10:18
 
ss

बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र फेरी डाक्टर विहिन भएको छ । तल्लोसोराड क्षेत्रका तीनओटा स्थानीय तह पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भएको स्थानीयहरुले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रही आएको मेलौलीका स्थानीय केशवसिंह भाटले बताए ।   केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी भएपनि दरबन्दी पदपूर्ती हुन सकेको छैन् । नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो तीन महिना यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा विभिन्न सेवाहरु अवरुद्ध भएका छन् । इसजी, अल्ट्रासाउण्ड लगायतका सेवाहरु अवरुद्ध भएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।   प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ। यस्तै निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था आएको छ ।