प्रहरी र चिनी मिलको सेटिङमा भारतबाट उखु तस्करी
2021/12/24, 10:24
 
ss

कञ्चनपुर जिल्लाको बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, शुक्लाफाँटालगायतका पालिकाहरुमा किसानले नगदे बालीका रुपमा उखु खेती गरिरहेका छन्। अहिले किसानलाई उखु काट्ने चटारो छ। कञ्चनपुरको शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रिज प्रालि र पुनर्वासमा रहेको सुगर मिलका लागि किसानले प्रशस्त उखु उत्पादन गरेका छन्। नेपालमा उखुको उत्पादन हुँदाहुँदै भारतबाट तस्करी भइरहेको छ।

भारतबाट उखुसमेत तस्करी हुन थालेपछि नेपाली किसान मारमा परेका छन्। कञ्चनपुरका दुई चिनी उद्योगले यस वर्ष मंसिरदेखि उखु खरिद गर्न थालेपछि भारतबाट उखु तस्करी भइरहेको हो।  सरोकारवाला निकायकै मिलोमतोमा भारतबाट उखु तस्करी भएर नेपाली उद्योगमा बिक्री वितरण भइरहेको छ। स्थानीय किसानले आफ्नो उखु खरिदका लागि चिनी मिलले आलटाल गरेको तर भारतबाट तस्करी गरिएको उखु खरिद गरिरहेको आरोप लगाएका छन्।

बेलडाँडीका स्थानीय उखु किसान पदम रानाले भारतबाट तस्करी गरिएको उखु चिनी मिलले किन्ने तर नेपाली किसानका उखु खरिद नगर्दा आफूहरु मारमा परेको गुनासो गरे। उनले सीमा क्षेत्रमा खटिने प्रहरीदेखि चिनी मिलसम्मको मिलोमतोमा भारतबाट उखु तस्करी भइरहेको दावी गरे।  ‘सीमाबाट धमाधाम उखु नेपाल भित्रिन्छन्’, उनले भने, ‘भारतबाट तस्करीको उखु आउँदा चिनी मिलले हाम्रो उखु खरिद गर्न आलटाल गरेका छन्।’

बेलौरीका किसान प्रेम चौधरीले पनि सेटिङमै सीमा क्षेत्रबाट उखु तस्करी भइरहेको बताए। उनका अनुसार सेटिङमै रातको समयमा नेपाली किसानको पर्चीबाट तस्करीको भारतीय उखु बेचिरहेको छ। ‘सबैतिर मिलोमतो छ, भारतबाट लाखौँ क्विन्टल उखु नेपाल भित्रिरहेको छ’, उनले भने, ‘कसैले पनि नियन्त्रणका लागि चासो दिँदैनन्।’

भारतबाट उखु तस्करी हुन थालेपछि नेपाली किसानले चिनी मिलमा बेच्न लागेको उखु सडकमै थन्किएको छ। भारतबाट उखुको तस्करी भएर नेपाल भित्रिन थालेपछि जनता समाजवादी पार्टीले भने चासो दिएको छ। जनता समाजवादी पार्टी नेपाल कञ्चनपुर क्षेत्र नम्बर १ ले भारतबाट तस्करी भएर नेपाल भित्रिने उखु रोक्नुपर्ने माग अघि सारेर महाकाली सुगर इण्डष्ट्रिज प्रालिसहितका चार सरकारी निकायमा ज्ञापनपत्र बुझाएको छ।

जसपा कञ्चनपुरका नेता एव केन्द्रीय अनुशासन सदस्य अमरसिंह विष्टले भारतबाट उखु तस्करी हुँदा नेपाली किसान मारमा पर्दै गएपछि पार्टीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताए।  उनका अनुसार बेलौरी नगरपालिका, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल बोओपीलाई समेत ज्ञापनपत्र बुझाइएको छ।