कैलालीको धनगढी विमानस्थल वरिपरिको जग्गा रेखाङ्कन गरिएपछि स्थानीय आक्रोसित भएका छन् । धनगढी विमानस्थलको कार्यालयले आफूहरुको जग्गा कब्जा गर्न खोजेको आरोप लगाउँदै उनीहरु आक्रोसित भएका हुन । यद्यपि, जग्गाको रेखाङ्कन र पिल्लर गाड्ने कार्य कसले, किन ग¥यो भन्ने कुराको पुष्टि भइसकेको छैन ।
जग्गा धनी आफूहरुलाई जानकारी नै नगराई जग्गाको रेखाङ्कन र पिल्लर गाड्ने कार्य गरिएपछि उनीहरुले आन्दोलनसमेत थालेका छन् । जग्गा धनीलाई जानकारी नगराई रेखाङ्कन गर्नु कदापि उपयुक्त नरहेको उनीहरुको तर्क छ । विमानस्थल स्तरोन्नतिका लागि आफूहरुसंग समन्वय गरेरमात्रै जग्गा लिनु पर्ने उनीहरुको भनाइ छ । चुपगुमा रेखाङ्कन गरिएको कार्यको उनीहरुले विरोध जनाएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ का भोजराज शर्माले बिना कुनै जानकारी दिइ आफूहरुको जग्गामा पिल्लर गाड्नु अन्याय रहेको बताए । उनले पिल्लर गाडिएपछि बैङ्कमा जग्गा राख्न समस्या भएको उल्लेख गरे । कसले, कुन प्रयोजनमा जग्गाको रेखाङ्कन र पिल्लर गाड्ने कार्य गरेको हो भन्ने कुराको पुष्टि नभए पनि स्थानीयले भने धनगढी विमानस्थलको कार्यालयले सो कार्य गरेको हुन सक्ने आरोप लगाएका छन् । आफूहरुको जमिनलाई विमानस्थलले पहिल्यैदेखि कब्जा गर्न खोज्दै आएको स्थानीय मञ्जु चौधरीले बताइन् । कमाई खाने र बस्ने आधार जमिनमात्रै भएको भन्दै उनले रेखाङ्कन र पिल्लर हाल्ने कार्य गरेर आफूहरुको उठीबास गराउन खोजिरहेको उल्लेख गरिन । ‘हामीलाई नै नसोधेर हाम्रो जग्गामा पिल्लर गाडियो’, उनले भनिन् । ‘कमाइ खाने र बस्ने एउटै जग्गा विमानस्थलको कार्यालयले लिएमा हामी कहाँ जाने ’
उता नागरिक उड्डयन प्राधिकरण धनगढीले व्यक्तिको जग्गामा पिल्लर गाडिनुमा प्राधिकरणको कुनै भूमिका नरहेको जनाएको छ । विमानस्थलका निमित्त प्रमुख आनन्दराज भट्टले अहिले विमानस्थल विस्तारको कुनै योजना नरहेकाले यसमा आत्तिनु पर्ने कुरा नरहेको उल्लेख गरे ।
के भू–माफियाको चलखेल हो
जग्गा धनी स्थानीयलाई जानकारी नगराइ धनगढी विमानस्थल वरिपरिको जग्गा रेखाङ्कन र पिल्लर गाड्ने कार्य भू–माफियाको चलखेल रहेको केहीले व्यक्तिले बताएका छन् । विमानस्थल स्तरोन्नतिको कुरा अगाडि बढेपछि जग्गाको कारोबारमा संलग्न माफियाले त्यस्तो गरेको उनीहरुको भनाइ छ । विमानस्थल वरिपरिका स्थानीय जग्गामा रेखाङ्कन गर्नुका साथै, पिल्लर गाडिएको छ । सम्बन्धित स्थानीयलाई बिना कुनै जानकारी सो कार्य गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१३ का वडा कार्यालय सचिव धर्मानन्द पाण्डेयले विमानस्थल वरिपरिका जग्गा बिक्रीका लागि जग्गाको कारोबार गर्नेहरु सल्बलाउन थालेको बताए ।
‘जग्गाको रेखाङ्कन गर्ने र पिल्लर गाड्ने कार्यको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन’, उनले भने । ‘यो कार्य जग्गा कारोबारीहरुको हो । उनीहरु सल्बलाउन थालेका छन् ।’ विमानस्थलको स्तरोन्नति भएमा जग्गाको भाउ अझ महँगो हुनेछ । त्यसैको फाइदाका लागि जग्गाका कारोबारीहरु सल्बलाउन थालेको बताइएको छ । दुई वर्ष अगाडि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश रावलले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने प्रतिवद्धता जनाएका थिए । विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्ने कार्यलाई अगाडि बढाइएको थियो ।
विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्ने कुरासंगै फाइदाका लागि भू–माफियाहरु क्रियाशील भएको ठहर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पनि छ । उनले विमानस्थल स्तरोन्नतिको कुरा अगाडि बढ्ना भू–माफियाहरुले चलखेल सुरु गरेको आरोप लगाए । उनले जग्गा रेखाङ्कन र पिल्लर गाडेको विरोधमा जनता उत्रेकोमा खुशी व्यक्त गरे । ‘अहिले विमानस्थल वरिपरिको जग्गामा भू–माफियाहरुको गिद्धे दृष्टि परेको छ’, धनगढीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय उद्घाटन गर्दै मन्त्री आलेले भनेका थिए । ‘म त्यहाँ बासिन्दालाई जागरुक हुन आग्रह गर्दछु ।’ पछिल्लो समय धनगढीमा जग्गाको कारोबार बढेको छ । प्रदेशको प्रमुख व्यापारिक सहर र अस्थायी राजधानीसमेत भएकाले जग्गा बिक्री गर्ने र जग्गा खरिद गर्नेको ध्यान धनगढीमा परेको छ ।