भजनीको सबै वडामा कालोपत्रे सडक बन्ने
2021/12/26, 2:02
 
ss

कैलालीको भजनी नगरपालिकाले चालू आर्थिक वर्षमा सबै वडामा एउटा–एउटा कालोपत्रे सडक बन्नेछ । सो नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार हरेक वडामा एकरएक वटा पिच सडक बनाउन लागेको हो । केही वडामा सडक निर्माणको कार्य सुरु भइसकेको छ ।

नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २, ८ र ९ मा सडक निर्माणको कार्य सुरु भइसकेको हो । ती सडकहरुमा अहिले रोलिङ, ग्राभेल हाल्ने लगायतका काम भइरहेको नगरपालिकाका इन्जिनीयर विष्णु जोशीले बताए । उनका अनुसार वडा नम्बर २ को रजवारा गाउँमा १० लाख रुपैयाँ लागतमा पिच सडक बनिरहेको छ । सो सडकको लम्बाइ २२० मिटर रहेको जनाइएको छ । 

यसैगरी, वडा नम्बर ८ मा गोडचौराको डबलपुलदेखि वडा कार्यालयसम्म जाने बाटो निर्माणको कार्य भइरहेको छ । सो ठाउँमा १९ लाख रुपैयाँ लागतमा ३०० मिटर लामो कालोपत्रे सडक बन्ने जनाइएको छ । यस्तै, वडा नम्बर ९ मा १७ लाख रुपियाँ लागतमा २६८ मिटर कालोपत्रे सडक बनाउने कार्यको सुरुवात गरिएको छ । अहिलेसम्म तीन वटा वडामामा बन्ने सडककोमात्रै सम्झौता भएर काम भइरहेको इन्जिनीयर जोशीले बताए । ‘बाँकी वडामा बन्ने सडकको सम्झौता हुनै बाँकी रहेको छ ।’, उनले भने । ‘तीन वटा वडामा भने काम अगाडि बढेको छ ।’ 

भजनी नगरपालिका कैलालीको विपद्ग्रस्त स्थानीय तहको रुपमा चिनिन्छ । यो नगरपालिकाले हरेक वर्ष बाढी, डुबान जस्ता प्राकृतिक विपद्को सामना गर्दै आएको छ । विपद् आइरहने कारणले यो नगरपालिकामा प्रायःजसो रोड कच्ची रहेका छन् ।  एक वडामा कम्तीमा पनि एउटा कालोपत्रे सडक हुनु पर्ने नगरवासीको चाहनानुसार एक वडा एक कालोपत्रे सडक निर्माण गर्ने नीति लिएको वडा नम्बर ८ का वडा अध्यक्ष पङ्कज चौधरीले बताए । ‘सो नीति अनुसार कतिपय वडामा सडक निर्माणको काम सुरु भइसकेको छ भने कतिपयमा सुरु हुन अझै बाँकी रहेको छ’, उनले भने । 

नगरपालिकाले एक वडामा एक कालोपत्रे सडक निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा नम्बर १ को भजनी क्षेत्र पिच सडकका लागि १० लाख रुपैयाँ वडा नम्बर ३ को थेकीपुर कालोपत्रे सडक बनाउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, वडा नम्बर ४ को बिजुलियामा पिच सडक बनाउन आठ लाख, वडा नम्बर ५ को कालातातलदेखि भगतपुरसम्म सडक बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, वडा नम्बर छ को विष्णापुर र वडा नम्बर ७ मा कालापत्रे सडक निर्माणका लागि क्रमशः २४ लाख ५० हजार र १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिले सम्झौता भइसकेका सडक निर्माणको कार्य उपभोक्ता समितिमार्फत भइरहेको इन्जिनीयर जोशीले बताए ।