धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न १ अर्ब विनियोजन
2021/12/27, 5:30
 
aa

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब बजेट विनियोजन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले धनगढी विमानस्थलका लागि एक अब विनियोजन गरेको हो।

क्षेत्रीय अन्तरास्ट्रिय स्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट बिनियोजन गरिएको मन्त्री आलेले बताए।उनले विमानस्थलमा थप संरचना निर्माण गर्न थप १५ करोड बजेट विनियोजन गरिएको बताए। बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिगा जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

उनले भने, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाडै मन्त्रिपरिषदमा लैजाने छौँ।” उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आईतबार बसेको क्यानको बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेल्धुरामा समेत विमास्थलको रन वे विस्तार तथा टर्मिनल भवन र विमानस्थल बनाउन बजेट विनियोजन गरेको छ। क्यानको ३९२ औं बैठकले आज बजेट पारित गर्नुको साथै पूर्वाधार विकासका बारेमा निर्णयहरु गरेको प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए।