दार्चुलामा १४ हजार भन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। गत सोमबार ५ गते देखि जिल्लाका १४ हजार ५ सय ३७ जना १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिकामा ३ हजार २७० जना, शैल्यशिखर नगरपालिकामा ३ हजार २१०, नौगाड गाउँपालिकामा २ हजार ५२० र दुहुँ गाउँपालिकामा १ हजार २० जना बालबालिकालाई मोडर्ना खोप लगाइएको छ।
यस्तै, व्यास गाउँपालिकामा ९२८जना, मार्मा गाउँपालिकामा ८६०, अपि हिमाल गाउँपालिकामा ८०५, मालिकार्जुन गाउँपालिकामा १ हजार ३३७ र लेकम गाउँपालिकामा ५८७ जना बालबालिकालाई मोडर्ना खोप लगाइएको छ।
दार्चुलाका २१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा खोप अभावका कारण जम्मा १४ हजार ५३७ जना बालबालिकालाई मात्र खोप लगाउन सकिएको बताइएको छ। जिल्लामा उक्त खोप अभियान पुस ९ गते सम्पन्न भएको हो।