पुलको बजेट अन्तै सार्न खोजिएपछि वडा कार्यालयमा तालाबन्दी, जाँड खाएका वडा सदस्य पक्राउ
2021/12/28, 3:53
 
dd

निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि कञ्चनपुरको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । जिल्लाको कृष्णपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा स्थानीयले मंगलवार तालाबन्दी गरेका हुन् ।

स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयको दुखेसो छ । त्यसैले विरोधमा उत्रिएको स्थानीय जगतराम चौधरीले बताए । स्थानीय चौधरीले पुल निर्माणको टेण्डर समेत भइसकेको र तोकिएको स्थानबाट ८ नम्बर वडाको बालुवाघाटमा सार्न खोजिएकाले आफूहरूले कुनै पनि हालतमा सार्न नदिने बताए ।

तर वडाध्यक्ष अमरसिंह बडायकले विवादको कारण आफूले बुझ्न नसकेको बताए । यद्यपि छलफल जारी रहेको बताउँदै वडाध्यक्ष बडायकले कसैले चाहेर पनि बजेट सार्न नमिल्ने उल्लेख गरे । कृष्णपुर नगरपालिकाले पुल निर्माण गर्न ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।

यसैबीच, विवाद मिलाउन भनी रक्सी खाएर पुगेका वडा सदस्य जयबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नशामा मात्तिएर होस गुमाएका वडा सदस्य भण्डारीलाई प्रहरीले वडा कार्यालय परिसरबाट घिसार्दै लगेको थियो ।