हिमपातपछि  दार्चुलाको जनजीवन कष्टकर
2021/12/29, 6:14
 
dd

दार्चुलामा  मङ्गलवार राति १ बजेबाट परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। भारी हिमपातले उच्च हिमाली बस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको हो ।

सबैभन्दा बढी दार्चुलाको मालिकार्जुन गाउँपालिका,व्याँस गाउँपालिका र नौगाड गाउँपालिकामा ४ फिट बाक्लो हिमपात भएको छ भने छिमेकी जिल्ला बैतडीको खोड्पेमा पनि बाक्लो हिमपात भएको छ ।

चिसोले जनजीवन कष्टकर बन्नुका साथै दैनिक कामकाजमा समेत समस्या भएको व्यास गाउँपालिकाका स्थानीय पदम भट्टले बताए । भारी वर्षाले ग्रामीण सडकहरू बन्द हुनुका साथै ४र५ फिट हिउँ परेको छ ।दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड,अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात भएको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न  क्षेत्रमा राती देखि हिमपात सुरु भएपछि जन जीवन कष्टकर बनेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । 

व्याँस गाउँपालिका–३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरूमा हिउँ परेको छ। कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ। हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलङ्गा झरिसकेका छन्।

तिंकरगाउँ हिउँदमा मानव विहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ। हिमपात सँगै यहाँका विद्यालयहरू पनि बन्द हुन थालेका छन् । दार्चुलाको व्याँस गाउँपालिकामा रहेको सम्पाल माध्यमिक विद्यालय पनि बन्द हुने भएको हो । हिमपात सँगै चिसो बढेकाले अब २ हप्ता जाडो बिदा दिने प्रधानाध्यापक बल्देब सिंह धामीले बताए । 

किसान खुसी 

हिमपात नहुँदा आफ्नो खेतबारीमा लगाएको हिउँदे बाली जौँ, गहुँ तोरीको उत्पादन कम हुने चिन्तामा परेका स्थानीयवासी भने हिउँ पर्दा खुसी भएका छन्।  हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने कृषक विक्रम सामन्तको भनाई छ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला पानी पर्दा दार्चुला,बैतडीका   किसानहरू खुसी भएका छन् । पिउने पानीको समस्या भएका बेला आकाशबाट पानी पर्दा केही राहत भएको बैतडी खानेपानीमा कार्यरत कर्मचारी अमरेश ठगुन्नाले बताए ।