
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय योजना आयोगसँगको परामर्शमा नेपाली कांग्रेसले देशभर विकासका आयोजनाहरुको खाका तयार पार्ने बताएका छन्। सुदूरपश्चिमका नौ वटै जिल्लाको भ्रमण गरि सोमबार मात्रै गृह जिल्ला डडेल्धुरा पुगेका नेता महरले युग सुहाउँदो र जनताका पिरमर्कालाई सम्बोधन गर्ने खालका योजना सञ्चांलनमा ल्याइने बताएका छन्।

महत्त्वपूर्ण विकास निर्माणका लागि योजना आयोगसम्म पुगेका निवेदनको खाका तयार पारि प्र्राथमिकताका आधारमा कार्यान्वयन गरिने उनले बताए। सबै योजनाहरु आयोगसँगको परामर्शमा क्रमस प्राथमिकताका आधारमा अगाडि बढाइने समेत उनले बताए। उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाको निर्माण प्रक्रियालाई विशेष चाँसो दिन निर्देशन दिएकाले टोली फर्किने बित्तिकै पश्चिम सेती र फाष्ट ट्रयाकका कुरालाई अगाडि बढाउन जोड गरिने बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित सातादेखि सुदूरपश्चिम भ्रमणमा रहेका कांग्रेस नेता महरले प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशन र संयोजनमा विकासका लागि स्थलगत भ्रमण गरि अध्ययन थालिएको बताएका छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात सुदूरपश्चिम भ्रमणमा आएका नेता महरसहित योजना आयोगका उपाध्यक्ष पौडेलको पनि डडेल्धुरामा स्वागत गरिएको छ। उक्त बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष डा. पौडेलले आफूहरु विकास निर्माणका योजना संकलनकै लागि सुदूरपश्चिम पुगेको बताएका छन्। डडेल्धुरा प्राकृतिक रुपमा सुन्दर रहेकाले त्यसमा थप आधुनिक विकास गरेर सौन्दर्यता झल्काउने विश्वास उनले दिलाएका छन्।
सुदूरपश्चिमको गरिबी हटाउन पश्चिम सेती परियोजना, सिँचाइ, विद्युतिकरण, खानेपानी र ग्रामीण सडकलाई प्राथमिकतामा राखिने योजना आयोगका उपाध्यक्ष डा पौडेलले बताए। साथै सुदूरपश्चिमका सञ्चार गृह तथा सूचना प्रणालीका लागि पनि महत्त्वपूर्ण योजनाहरुलाई अगाडी बढाइने उनले बताए।