सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण विस्तारै बढ्न थालेको छ । भारतबाट नेपालीहरु फर्कनेक्रम बढेसंगै सङ्क्रमण पनि बढ्न थालेको हो ।
प्रदेशमा बुधबारमात्रै ५५ जना संक्रमित थपिएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ र आरटी पीसीआर विधिबाट नौ गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारमात्रै ४० जना संक्रमित थपिएका थिए । यो संगै सुदूरपश्चिम प्रदेशभरि सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ ।
कैलालीमा सबैभन्दा बढी ९२, कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझांग, बाजुरा र डडेल्धुरामा एक÷एक जना सक्रिय संक्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।
केही साता अगाडिसम्म यो प्रदेशको सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा कम रहेको थियो । विस्तारै कोरोना सङ्क्रमण बढ्न थालेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो । भारतको विभिन्न राज्यमा ओमिक्रोन फैलिन थालेपछि कामका लागि त्यहाँ गएका कामदार विस्तारै स्वदेश फर्कनेक्रम सुरु भएको छ । उनीहरु फर्कन थालेसंगै सङ्क्रमणको अनुपात पनि उकालो लाग्न थालेको हो ।