सुदूरपश्चिममा फेरि बढ्यो कोरोना संक्रमणको त्रासः एकैदिन थपिए १२० जना संक्रमित
2022/01/06, 6:08
 
aa

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेसंगै नेपाल फर्कनेको संख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको हो।

भारतबाट आएका नागरिकमा संक्रमण देखिने दर ह्वात्तै बढेको हो। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ४७ र बैतडीको नाका भएर स्वदेश फर्केका एक जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा संक्रमण पुष्टि भएका बाँकी १३ जना भने भारतबाट आएका होइनन्। २४ घण्टामा एक हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिमका चार नाका भएर एक हजार ५ सय बढी नेपाली स्वदेश फर्केका छन्।