पश्चिम तराई कैलाली र कञ्चनपुरमा चिसो बढेपछि विपन्न परिवारसँग न्यानो लुगा नभएर कठ्यांग्रिनु परेको छ । जल तथा मौसम विज्ञानको फिल्ड कार्यालय अत्तरियाका अनुसार यो साता न्यूनतम तापक्रम ६ र ७ डिग्री सेल्सियसको बीचमा स्थिर छ ।
बुधबारको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्रीमै सीमित रहन पुगेको छ । दिनभरको हुस्सु र शीतलहरले अधिकतम तापक्रम १८ डिग्रीभन्दा बढी बढेको छैन । बुधबार अधिकतम तापक्रम १६ डिग्री सेल्सियस मात्रै पुगेको छ ।
अत्यधिक चिसो बढेपछि दैनिक ज्यालादारीमा मजदुरी गर्ने वर्ग र झुपडीमा बास रहेको अव्यवस्थित मुक्तकमैया, सुकुम्बासीलगायत परिवार प्रभावित भएका छन् । ‘न्यानो लगाउने, ओछ्याउने र ओढ्ने लुगा नभएर आगो तापेर बस्ने दिन सुरु भएका छन्,’ धनगढी पुरानो एअरपोर्ट मुक्त कमैया शिविरका दुःखीराम चौधरीले भने, ‘चिसोले गर्दा दिनमा मजदुरी गर्न पनि गाह्रो भएको छ ।’
त्यस्तै, मनिरा शिविरका देवीलाल डगौराले पनि रात काट्नका लागि दाउराका मुडा खोज्नुपरेको बताए । ‘स्थानीय सरकार भन्नेले हामी गरिबका लागि दाउरा र मुडाको व्यवस्था मिलाइदिए हाम्रा हिउँदका दिन आगो तापेर भए पनि जाने थिए,’ उनले भने, ‘कसले ध्यान दिन्छ र ?’
उनले अहिले दाउरा खरिद गरेर बाल्न नसकिने अवस्था रहेको बताए । ‘दाउरा पाउन नै मुस्किल भएको छ,’ उनले भने, ‘पाए पनि महँगो छ, दिन मजदुरी गरेर छाक टार्ने परिवारले दाउरा किनेर बाल्न सक्ने स्थिति हुँदैन ।’