मोहना नदी पुल–अत्तरिया छ लेन सडकमा आफ्नो कार्यालय अगाडि बाटो काट्ने ठाउँ चाहियो भन्दै सरकारकै एक निकायले मिडियन फुटाएर बाटो बनायो । त्यो थियो, गोदावरी नगरपालिकाको वडा नम्बर १ को कार्यालय । त्यो कार्यालयको ५०० मिटर अगाडिमात्रै एउटा लेनबाट अर्को लेनमा जानका लागि बाटो काट्ने ठाउँ बनाइएको छ ।
तर, वडा कार्यालयका पदाधिकारी र कर्मचारीले आफ्नै कार्यालय अगाडि बाटो चाहियो भन्दै मिडियन फुटाएर बाटो बनाए । त्यस्तै, धनगढीको विभिन्न ठाउँमा घर, अस्पताल, व्यापारिक फर्म अगाडि मिडियन फुटाएर बाटो बनाइएको छ । मान्छेले जता, जसरी पायो त्यसरी नै बाटो काटेर एक लेनबाट अर्को लेनमा जाने कार्य गरिरहेका छन् ।
आवात–जावतमा सहज र दुर्घटना न्यूनीकरण हुने उद्देश्यले बनाइएको छ लेन सडकमा मान्छेले अप्ठ्यारोपूर्ण तरिकाले जथाभावी बाटो काट्ने कार्य बढेको छ । छ लेन सडकको मर्म विपरित र ट्राफिक नियमको धज्जी उडाउँदै जहाँ पायो त्यहिँ जथाभावी सवारी साधनसहितबाटो काट्नेक्रम बढेको हो । यस्ता कार्यले ठूलो दुर्घटनाको जोखिम बढेको छ ।
ट्राफिक प्रहरीको नियमित निगरानी र कारबाहीको बाबजुद मान्छेले अटेरी गरेर जहाँ पायो त्यहिँबाट जथाभावी बाटो काट्ने कार्य गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । एक लेनबाट अर्को लेनमा जथाभावी जानेले ‘मिडियन’ विभिन्न ठाउँमा फुटाइसकेका छन् ।
‘जथाभावी बाटो काट्ने ठाउँमा ट्राफिक प्रहरीले डिभाइडर राखेर बाटो बन्द गर्दासमेत बाटो काट्नेक्रम रोकिएको छैन’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले भने । ‘मान्छे, यतिसम्म छन् कि डिभाइडर नै हटाएर बाटो काट्न थाल्छन् ।’ जथाभावी बाटो काट्ने कतिपय मान्छेलाई ट्राफिक प्रहरीले सम्झाइ बुझाइ गर्ने गरेको छ ।
कतिपयबाट जरिवाना असुल्ने गरेको छ । दिनकै सम्झाउने र जरिवाना तिराउँने कार्य गर्दापनि मान्छेमा चेत नआएको सिंह बताउँछन् । ‘नियमले त एक लेन वन वे मात्रै हो’, उनले भने । ‘तर, छ लेनमा जसरी यत्रतत्र छाडा चौपाया हिडिरहेका छन् । ठीक त्यसै गरी मान्छेबाट पनि हिड्ने काम भइरहेको छ ।’
छ लेन सडकमा जहाँ पायो त्यहिँ यु टर्न लिन मिल्दैन । त्यसैगरी, एक लेनबाट अर्को लेनमा जानका लागि पनि निश्चित ठाउँमात्रै किटान गरिएको हुन्छ । तर, यो सडकमा छाडा चौपाया जस्तै मान्छे पनि जथाभावी हिडिरहेका र सवारी साधन एक लेनबाट अर्को लेनमा लगिरहेका सिंहको भनाइ छ । संघीय सरकारको लगानीमा बनिरहेको छ लेन सडक निर्माणको कार्य अहिलेसम्म पूरा भइसकेको छैन ।
काम नसकिएकाले यो सडक हस्तान्तरण भएको छैन । छ लेन सडक अहिलेसम्म हस्तान्तरण नभएकाले यस्तो समस्या आएको ट्राफिक प्रहरीको ठहर छ । ‘हेण्ड ओभर–टेक ओभर भएको भए ट्राफिक चिन्ह राख्नुका साथै यु टर्नका लागि निश्चित ठाउँ किटान गर्न सहज हुन्थ्यो’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिंहले भने ।
‘अहिलेसम्म छ लेन सडक अण्डर कन्स्ट्रक्सनमै छ । त्यसैले कडाइका साथ नियम परिपालना गराउन हामीलाई पनि समस्या भइरहेको छ ।’ तीन प्याकेजमा निर्माण भइरहेको छ लेन सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो प्याकेजको निर्माण कार्यको भौतिक प्रगति क्रमशः ९३, ९४ प्रतिशत र तेस्रो प्याकेजको भौतिक प्रगति करिब ८७ प्रतिशत रहेको छ । आउँदो चैत महिनामा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ भने निर्माण कार्य सकिएको एक वर्ष एक महिनापछि हस्तान्तरण हुने छ लेन सडक निर्माण आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
सडकमा ५०० देखि ७०० मिटरको दूरीमा जेब्रा क्रसिङ र यु टर्न रहने व्यवस्था गरिएको छ । विभिन्न ठाउँमा बाटो काट्ने ठाउँ बनाइए पनि मान्छेले मिडियन नै फुटाएर बाटो बनाउने र जथाभावी हिड्ने काम गरिरहेको आयोजना कार्यालयका सूचना अधिकारी एवम् सव इन्जिनीयर भुवन खड्काले बताए । ‘चौराहा क्षेत्रमा झन बिजोग छ’, उनले भने । ‘मिडियन फुटाएर ट्रयाक्टरसमेत क्रस गराइरहेका छन् । सबैलाई आफ्नो घरकै अगाडि बाटो काट्ने ठाउँ चाहिएको छ ।’ उनका अनुसार प्रति घण्टा ७० देखि ८० किलोमिटरको गतिमा सवारी साधन गुड्ने गरी छ लेन सडक बनाइएको हो ।
तीव्र गतिमा गाडी गुड्ने गरी बनाइएको सडकमा मान्छेले नियम विपरित बाटो काट्दा ठूलो दुर्घटनाकोे जोखिम छ । धनगढीको चौराहा क्षेत्रमा अझै धेरै ठाउँमा मिडियन फुटाएर जथाभावी बाटो काट्ने कार्य भइरहेको उल्लेख गर्दै सूचना अधिकारी खड्काले नियम मिच्नेलाई ट्राफिक प्रहरीले दण्डित गर्न आवश्यक रहेको बताए । ‘ट्राफिक प्रहरीले कडाइ गर्नु पर्दछ । जथाभावी गाडी राख्ने र कुदाउनेलाई दण्डित गर्नु प¥यो’, उनले भने । ‘सडकमा दिनभरि ट्रक र ट्रयाक्टर रोक्नु । फुटाएको मिडियनबाट बाटो काट्नु राम्रो होइन । सडक सुरक्षाको दृष्टिकोणले पनि ठूलो जोखिम छ ।