टिकापुर ७ बैदि स्थित बनेको कालोपत्रे सडक छ महिना नपुग्दै भत्किएको छ । सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश समपुरक बजेट र टिकापुर नगरपालिकाकाे ५०/५० प्रतिशत याेगदान रकम अन्तरगत भ्याट सहित २२ लाख ७३ हजार ४ सय ५० रुपैयाँ ७९ पैसामा १ सय २० मिटर हुलाकी राजमार्ग देखि डल्फिन क्षेत्र जाेड्ने बाटो भत्किएको छ ।
रानी जमरा कुलरिया सिंचाइ आयोजनाले आफ्नो कार्य क्षेत्र अन्तरगत टिकापुर ७ देखि प्रहरी चाैकि कालाकुण्डा हुँदै वडा नम्बर ९ जाेड्ने सिमा सम्मकाे सडकमा ग्राभेल हाल्ने क्रममा साे पिच सडकमा लाेड सहितको टिप्पर हिँड्दा कालोपत्रे सडक भत्किएको जनाइएको छ । १ सय २० मिटरको दुरिमा १ दर्जन भन्दा धेरै ठाउँमा पिच सडक भत्किएको स्थानीयकाे भनाइ छ ।
कालोपत्रे सडक बनेको छ महिनामै भत्किएको बारेमा जानकारी लिँदा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुले भत्किएको कालोपत्रे सडक पुनः निर्माणका लागि आफुले सम्बन्धित निकायलाई जानकारी गराएको बताए । उक्त कालोपत्रे सडक गत असारमा बनाइएको थियो ।
बाटो भत्किएको जानकारी हामीलाई आएकोे छ हामीले निर्माण कम्पनीलाई पुनः मर्मतका लागि जानकारी गराइएको र कम्पनीले मर्मत गर्ने प्रतिबद्धता समेत जनाइसकेको टिकापुर नगरपालिका भाैतिक पुर्वाधार शाखा प्रमुख नवराज जाेशिले जानकारी दिए ।