बैतडीमा शव फेला, अपहरणकाे नाटक गरेका नै हत्यामा संलग्न !
2022/01/12, 10:47
 
11

बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका डम्मर अवस्थीको शव फेला परेको छ। गएको मंसिर १४ गतेदेखि घरबाट हराएका ३० बर्षीय अवस्थीको शव घर नजिकैको गुफामा फालेको अवस्थामा फेला परेको हो।

अवस्थीको शव सडेको अवस्थामा घर नजिकैको रहेको जंगलको गुफामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

केही दिन अघि आफूलाई विप्लव समूहले अपहरण गरेको भनेर नाटक गरेका सुर्नया गाउँपालिका ६ कलालबसेका हरिश अवस्थीले नै डम्मर अवस्थीको हत्या गरेको प्रहरीले जनाएको छ। हरिशले दिएको लोकेशनको आधारमा खोजी गर्दा डम्मरको शव फेला परेको र उनले नै हत्या गरेको पुष्टि भएको प्रवक्ता ओझाले बताए।

उनले भने ‘अहिले हाम्रो हिरासतमा रहेका हरिशले भने अनुसार नै शव फेला पर्यो। उनले हत्या गरेको पनि स्वीकार गरिसकेका छन्। घटनाको थप अनुसन्धान भईरहेको छ।’ करीब १५ फिट गहिरो गुफाबाट डम्मरको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रवक्ता ओझाले बताए।

अपहरणमा परेको नाटक गरेर हरिशले सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका थिए