सुदूरपश्चिममा आज २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र १ सय ९१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
आज एक हजार ७३५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका २ सय ५४ जनामध्ये भारतबाट स्वदेश फर्केका १ सय ६८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ६१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०४, पुलघाटबाट फर्केका २ जना र पुलघाटबाट फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ४८३ नेपाली स्वदेश फर्केका छन्।
भारतबाट फर्किएर नाकामा परीक्षण गर्ने क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ।
लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ। यसले फेरि समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढेको छ।