बैतडी घटना: मंसिर १४ गते नै हत्या, प्रहरीले पहिल्यै गरेको थियो सोधपुछ
2022/01/13, 3:02
 
aa

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या मंसिर १४ गतेनै भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले हत्या गरि शव लुकाएको खुलेको हो ।

हरिशले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले बुधबार धुलिधारस्थित जंगलमा शव भेटाएको थियो । ‘हरिशले डम्बरको हत्या गरेर लुकाएका रहेछन्,’ प्रहरी प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’

मंसिर १४ गते डम्बर अवस्थी हराएपछि उनका आफन्तले पुस १ गते जिल्ला प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । ‘निवेदन आएपछि हामीले उनको खोजी ग-यौं,’ उनले भने, ‘डम्बरको अन्तिम फोन हरिशसँग भएको पाएका थियौं, त्यसपछि हरिशसँग सोधपुछ गरेका थियौं, उनले त्यतिबेला केही जानकारी दिएनन् ।’

प्रहरीले हरिशलाई समान्य सोधपुछ पछि छोडेको थियो । तर, निगरानीमा भने राखेको थियो । त्यसपछि गत साता हरिशले अपहरणमा परेको नाटक गरे । उनले फेसबुकमा स्टाटस लेख्दै ६ जनाको समुहले आफुलाई अपहरण गरि राप्ती नदि किनार पुगाएको उल्लेख गरेका थिए ।

त्यो फेसबुक स्टाटस आएपछि बाँके प्रहरीले उनलाई भिजेको अवस्थामा राप्ती नदी किनारमा भेटाएको थियो । बाँके प्रहरीले हरिशलाई बैतडी प्रहरीको जिम्मा लगाएको थियो ।

‘त्यसपछि हामीले फेरी डम्बरबारे हरिशसँग छोधपुछ ग-यौं,’ बैतडी प्रहरी प्रवक्ता ओझाले भने, ‘प्रहरीले निगरानी गरेको थाहा पाएपछि उनले अपहरणमा परेको नाटक गरेका रहेछन् ।’

हत्याको कारण भने नखुलेको उनले बताए । ‘अनुसन्धान जारी छ,’ उनले भने, ‘आज सोधपुछ गर्छौ, किन हत्या गरेको रहेछ भन्ने थाहा भैहाल्छ ।’ हरिश र डम्बरको परिवारबीच लामो समयदेखि विवाद रहँदै आएको स्थानीय बताउँछन् ।