सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि यहाँका जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाइ सुरु गरेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए सँगै यहाँका प्रशासनले सो अधिकारको प्रयोग गर्दै जिल्लामा कडाइ गरेका हुन् ।
यहाँका प्रशासनहरूले बुधवार र बिहिवार राती १२ बजेदेखि लागु हुने गरी विभिन्न बुँदे आदेश जारी गरेका हुन् ।कार्यविधि अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) ले कैलाली, कञ्चनपुर, डोटी, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र दार्चुला प्रशासनले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएका छन् । प्रशासनद्वारा जारी गरिएका आदेश अनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटेल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने भनिएको छ ।
यस्तै घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने, समय समयमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउन निर्देशन दिइएको छ । उद्योग, व्यापार तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा स्वास्थ्यका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्नु पर्ने आदेश जारी गरेका हुन् ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको पुस २६ गतेको निर्णय तथा सूचनाअनुसार विद्यालयले माघ १५ गते सम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने नगराउने, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टरर वार्षिक परीक्षाहरू जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना हुने गरी जेड आकारमा बस्ने व्यवस्था गरी सञ्चालन गर्ने र परीक्षा केन्द्रमा स्वास्थ्यका मापदण्ड अनिवार्य गर्ने जारी आदेशमा उल्लेख गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कार्यतालिका बनाई यथाशीघ्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्थाका लागि समेत आदेशमा भनिएको छ । यस्तै औषधिलगायत अत्यावश्यक बस्तु, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, असहज आपूर्तिमा अवरोध गर्ने उपर कानुनी कारबाही हुने प्रशासनहरूले चेतावनी समेत दिएका छन् ।
हेर्नुस् जिल्लाका सिडिओले जारी गरेका आदेशहरु:-