बैतडीमा युवक हत्या प्रकरणः थप एक जना नियन्त्रणमा
2022/01/16, 8:52
 
crct

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको  छ। सुर्नया–६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

उनले भने, ‘नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएका हौं, अहिले नै उनको संलग्नता हो भन्न सकिन्न, उनीमाथि थप अनुसन्धान गर्दै छौँ।’  गत मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो।

यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थी प्रहरी नियन्त्रणमै छन्। हरिशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको हो।  उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन्। उनले बताएको स्थानकै आधारमै डम्मरको शव फेला परेको थियो। हत्यामा अरूको संलग्नताका विषयमा अझै खुलीनसकेको प्रवक्ता ओझाले बताए।

उनले भने, ‘घटनाको प्रकृति हेर्दा एकजनाको संलग्नता हुनसक्ने सम्भावना छैन, अन्य पनि हुन सक्छन्।’  डम्मरका आफन्तले उनको हत्यामा एकजनामात्रै नभएर अरूको संलग्नता रहेकाले सबै दोषी पक्राउ नपर्दासम्म शव नउठाउने बताएका छन्।  डम्मरको हत्यामा संलग्न सबैको पहिचान भएमात्रै शव बुझ्ने मृतकका दाइ तीर्थराज अवस्थीले बताए।

डम्मरको शव पोष्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ। गत पुस २८ गते शव फेला परे पनि घटनामा संलग्न अन्यलाई खोजी गरी कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव नबुझेका हुन्।  डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य भएकाले उनको पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ।  घटनाका दोषीलाई कानुनी दायरामा लिएर कारबाही गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने नेकपाले माग राख्दै उक्त पार्टीका कार्यकर्ताले आज सुर्नया गाउँपालिका केन्द्रमा प्रदर्शन गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीले हत्यामा संलग्न सबैलाई खोजी गरी कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको नेपाल कम्युनिष्ट पार्टीका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए।