गैर आवासीय नेपाली सङ्घ एनआरएनए सुदूरपश्चिम प्रदेशमा लगानी गर्न तयार रहेको बताएको छ । मङ्गलवार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तले यस्तो बताएका हुन् ।
‘गैर आवासीय नेपाली सङ्घसँग पैसा छ,’ उनले भने, ‘तर बाहिर बस्ने मान्छेहरुलाई लोकल पार्टनरहरू विश्वासिलो नभए लगानी गर्न सम्भव नहुँदो रहेछ । त्यस कारण म उद्योग वाणिज्य सङ्घलाई के आग्रह गर्न चाहन्छु भने तपाईँहरू त्यो विश्वासिलो लोकल पार्टनर सँग गैर आवासीय सङ्घलाई चिनाइदिनुस् ।उहाँहरूलाई साक्षात्कार गरिदिनुभयो भने बल्ल त्यसले एक मूर्त रूप लिन्छ जस्तो मलाई लाग्छ । तपाईँहरू प्रस्ताव लिएर हामीलाई दिनुस् एनआरएन लगानी गर्न तयार छ ।’
नेपालको एक पर्यटकीय क्षेत्रको हिसाबले भरिपूर्ण भएको सुदूरपश्चिम साँच्चिकै सुन्दर रहेको बताउँदै यहाँ लगानी गर्ने थुर्पै क्षेत्रहरू रहेकोले लगानी गर्ने वातावरण मिलाई दिन समेत उद्योग वाणिज्य सङ्घसँग आग्रह गरे । ‘सुदूरपश्चिम साँच्चिकै सुन्दर छ, यहाँ लगानी गर्नको लागि थुर्पै क्षेत्र छन् । एआएनएसंग सहकार्य गर्नुस्, यदि तपाईँहरू हातेमालो गर्न इच्छुक हुनहुन्छ भने हामीहरू पनि तयार छौँ,’ उनले भने ।
उनले कुनै पनि सभा समारोहमा एउटाले लगानी ल्याउनुहोस् भन्ने र अर्कोले हुन्छ भनेर फर्किने गर्दा त्यसले कुनै रिजल्ट नदिने स्पष्ट पारे ।लोकल पार्टनरको विशेष प्रस्ताव आफूहरूलाई दियो भने भविष्यमा सुदूरपश्चिमसँग सहकार्य गर्न एनआरएनए तयार रहने उनले बताए । केही दिन अघि मात्रै सङ्घले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई ६० लाख रुपैयाँ मूल्यको मोबाइल ब्लड बैङ्क बस हस्तान्तरण गरिसकेको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गैर आवासीय नेपाली संघलाई सुदूर पश्चिमको पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले स्वागत मन्तव्य व्यक्त गर्दै गैर आवासीय नेपाली संघले सुदूर पश्चिमको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गरे ।