विवाहमा बेहोस भेटिएका कञ्चनपुरका एक युवकको मृत्यु
2022/01/19, 4:40
 
dd

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका करिब २८ वर्षीय वीरेन्दबहादुर चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गाउँ नजिकैको विवाहमा मंगलबार राति सहभागी भएका चौधरी बुधबार बिहान बेहोस अवस्थामा फेला परेका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृत्युको कारणबारे अनुसन्धानको कार्य भैरहेको प्रहरीले जनाएको छ। विवाह घर छिमेकीको गोठमा सुतेका चौधरी बिहान नउठेपछि स्थानीयले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। चिकित्सकले उनको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भैसकेको बताएका वडाध्यक्ष चौधरीको भनाइ छ।

स्थानीय बासिन्दाका अनुसार चौधरीले राति मदिरा सेवन गरेका थिए। भारतमा रोजगारी गर्दै आएका चौधरी केही दिनअघि मात्रै घर फर्केका थिए।  शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।