सरकारी आदेशको अवज्ञा, प्रदेशका मन्त्रीनै भिड जम्मा गरेर पार्टी प्रवेश गराउँदै
2022/01/19, 5:11
 
da

कोरोना नियन्त्रणको भूमिकामा रहेका सुदूरपश्चिम सरकारका मन्त्रीहरु कोरोना संक्रमण बढाउने खालका कार्यक्रममा व्यस्त हुन थालेका छन् । उनीहरु आफै भिडभाड जम्मा गरेर अन्य पार्टीका कार्यकर्ताहरुलाई आफ्नो दलमा प्रवेश गराइरहेका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेशको समग्र स्वास्थ्य क्षेत्र हेर्ने निकाय हो । मन्त्री लालबहादुर खड्का भने बकाइदा सार्बजनिक कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराइरहेका छन् । उनलाई आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङले पनि सघाइरहेका छन् । 

No description available.

मंगलबार नेकपा एकीकृत सामाजवादीले आयोजना गरेको वडा भेलामा दुबै मन्त्री सहभागी थिए । खड्का शुक्लाफाँटा नगरपालिका–३ मा आयोजित वडा भेलामा सहभागी भए भने तामाङले पुनर्वास नगरपालिका–९ मा आयोजित वडा भेलालाई सम्बोधन गरे ।

ती वडा भेलाहरुमा सरकारले तोकेको मापदण्ड भन्दा बढी मानिस सहभागी थिए । उक्त भेलाका सहभागीले नत सामाजिक दूरी कायम गरे । नत मास्क नै प्रयोग गरे । केही व्यक्तिहरु मास्क प्रयोग नगरेरै  वडा भेलामा सहभागी भएका थिए ।

पुनर्वासमा आयोजित वडा भेलामा उक्त नगरकै प्रमुख जीवन थापा पनि सहभागी थिए । उनले पनि मास्क प्रयोग गरेका थिएनन् ।  आर्थिक मामिला तथा योजना मन्त्री तामाङले मास्क र भौतिक दूरी कायम गरेर वडा भेला गरेपनि केही कमजोरी भएको स्वीकारे । ‘फोटो खिच्दा केही कमजोरी भएको छ,’ उनले भने ।