बैतडी हत्या घटना, ‘दोषीलाई बचाउन राजनीतिक चलखेल’
2022/01/20, 12:37
 
dd

 बैतडीको सुर्नया गाउँपालिका–६ का डम्बर अवस्थीको शव परिवारजनले अझै बुझेका छैनन् । प्रहरीले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेपनि परिवारजनले अन्यको पनि संलग्नता रहेको र उनीहरु पक्राउ नपर्दासम्म शव नबुझ्ने बताएका छन् ।

डम्बरको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरिसकेको छ । स्थानीय शिक्षक हरिश अवस्थी र नवराज अवस्थीलाई पक्राउ गरेको थियो । उनीहरु दाजुभाई हुन् । दुबैजनाले आफूहरुले हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ । तर, आफ्ना भाई डम्बरको हत्यामा अरु ६ जनाको पनि संलग्नता रहेको दाजु दिवाकर अवस्थीले बताए । 

‘डम्बरको हत्यामा अन्यको पनि संलग्नता छ,’ उनले भने, ‘हामीले अन्य ६ जनामाथि शंका गरेका छौं ।’ प्रहरीले शंकास्पद व्यक्तिमाथि अनुसन्धान नगरेको उनको आरोप छ । ‘उनीहरुबारे हामीले प्रहरीलाई जानकारी दिएका छौं,’ दिवाकरले भने, ‘प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरिरहेको छ ।’ 

यसैगरी पीडित परिवारले हत्यामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । ‘गाउँनै त्रसित बनेका छन्, सबै डराएका छन्, हामी असुरक्षित बनेका छौं,’ उनले भने, ‘प्रहरीले अनुसन्धानलाई तीब्रता दिनुपर्छ, घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्छ ।’ 

गत पुस २८ गते गाउँकै जंगलमा गाडेको अवस्थामा डम्बरको शव भेटिएको थियो । हत्याको आरोप लागेका हरिशले दिएको जानकारीका आधारमा प्रहरीले शव निकालेको थियो । पीडित परिवारले अहिलेसम्म शव बुझेका छैनन् । उनीहरुले हत्यामा संलग्न सबैलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।

डम्बर बिप्लव निकट माओवादीका कार्यकर्ता हुन् भने हत्यामा संलग्न भनिएकाहरु कांग्रेस कार्यकर्ता हुन् । पीडित परिवारले हत्यामा संलग्नहरुलाई राजनीतिक संरक्षण मिलिरहेको र उनीहरुलाई बचाउनका लागि बैतडी कांग्रेसको नेतृत्व सकृय भएको बताएका छन् ।

डम्बरको हत्या गरी अपहरणको नाटक गर्ने हरिशले लेखेको फेसबुक स्टाटसमा पनि कांग्रेसको स्थानीय नेतृत्वको नाम उल्लेख गरिएको थियो । प्रहरीले शव बुझ्न दवाव दिएको मृतकका दाजु दिवाकरले बताए ।

‘प्रहरीले शव बुझ्नुहोस् भन्दै आएको छ,’ उनले भने, ‘हत्यामा संलग्न सबैलाई पक्राउ नर्गदासम्म हामी शव बुझ्दैनौं ।’ पीडित परिवारले शंका गरेका व्यक्ति माथि प्रहरीले निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताए । ‘पीडित परिवारले दिएको जानकारीका आधारमा पनि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पक्राउ गरिएका व्यक्तिहरुमाथि पनि अनुसन्धान भइरहेको छ ।’