
डडेल्धुरामा विभिन्न मुद्दाका १२ जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए। ‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए। अहिले लामो समय भएपछि घर फर्किएका छन् । यही मौका छोपेर हामीले सक्रियता बढाएका छौं’, डिएसपी पालले भने।
पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना ९ दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए । उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुल उपर गरी छोडिएको बताए। १२ जनाबाट पुस २६ देखि माघ ३ गतेसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजस्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ ।
