सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी रहेको छ । विहान ९ बजेदेखि राष्ट्रिय सभाको मतदान सुरु भएको हो । पहिलो मत नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले खसाले । प्रदेश सभा भवनमा मतदानको व्यवस्था मिलाइएको छ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट खुलातर्फ नेपाली काङ्ग्रेसका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की चुनावी मैदानमा छन् ।
यसैगरी, नेकपा एमालेबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीका सन्तोषकुमारी शर्मा र दलिततर्फ बैतडीका नरेश विक चुनाव लडिरहेका छन् । सुदूरपश्चिममा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
५२ जना प्रदेशसभा सदस्यमध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक/एक जना प्रदेशसभा सदस्य छन्।
प्रदेशमा मतभार यस्तो छ
सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको ६७२, माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ तथा राजपा र लोसपाको ४८/४८ मतभार रहेको छ। स्थानीय तहमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ। स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन्।
कांग्रेसको मतभार एक हजार ३३२, एमालेको एक हजार २७८, माओवादीको ३०६ र एकीकृत समाजवादीको मतभार २३४ छ। स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ छ। एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ।