महानगरीय प्रहरी परिसर काठमाडौंले बैतडी सुर्नया घर भएका प्रहरी नायब निरीक्षक (सई) पदम अवस्थीलाई नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको छ । प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई अवस्थीले आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर कर्तब्य ज्यान उद्योगका आरोपी शनि तामाङलाई रंगेहात पक्राउ गरेका थिए ।
परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले प्रहरी प्रधान कार्यालयसहित प्रहरी किताबखानामासमेत रेकर्ड रहने गरी सई अवस्थीलाई पुरस्कृत गरिएको जानकारी दिए । उनले यसप्रकारको प्रोत्साहनले प्रहरी अधिकारीको मनोबल उच्च बनाउनुका साथै भविष्यमा प्रहरी अधिकारीको वृत्ती विकासमा सहयोग पुग्ने बताए ।
प्रहरीका अनुसार १० पुसको मध्य राती काठमाडौं तार्केश्वर नगरपालिका शेषमति लामबगरमा दुई युवाबीच विवाद हुँदा रामेछापका शनि तामाङले दोलखाका सुवाष तामाङलाई खुकुरी प्रहार गरेका थिए ।
सुवासलाई खुकुरी प्रहार गरेर भागेका शनिका बिषयमा महानगरीय प्रहरी कन्ट्रोलले तत्काल सबैलाई अर्लट गराएको थियो । सोही राती करिब १ बजे डीउटीमा रहेका सई अवस्थी तत्काल सूचना पच्छ्याउँदै शनिसम्म पुग्न सफल भएका थिए ।
अवस्थीले हतियारसहित आत्मसमर्पण गर्न भन्दाभन्दै शनिले उनकै टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । सई अवस्थीले घाईते अवस्थामा समेत शनिलाई नियन्त्रणमा लिएर थप प्रहरी बोलाएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । खुकुरी प्रहार गर्ने शनि हाल पूर्पक्षका लागि काठमाडौं जिल्ला अदालतको आदेशले कारागार चलान भएका छन् ।